काठमाण्डौ गोल्फुटारमा सेमी इन्डोर बास्केटबल हलको उद्घाटन

पोखरा स्पोर्ट्स । बूढानीलकण्ठ नगरपालिका वडा ८ स्थित गोल्फुटारमा गोल्फुटार सेमी इन्डोर बास्केटबल हलको शनिबार उद्घाटन गरिएको छ । बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीले हलको एक कार्यक्रमबीच उद्घाटन गरे ।

करिब २ रोपनी क्षेत्रफल हातामा नवनिर्मित हलका लागि २ करोड बजेट विनियोजन गरिएकोमा १ करोड ४४ लाखमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । सेमी इन्डोर बास्केटबल हलमा सावर, बाथरुम, कमन रुम, चेन्जिङ रुम, शौचालय र करिब १ सय दर्शक क्षमताको प्यारापिट पनि बनाइएको छ । हलसंगै रहेको खाली जग्गामा पनि फुटसल पूर्वाधारको निर्माण भइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले नगर गौरवको योजनाअन्तर्गत हल निर्माण गरिएको बताउदै यसले कुनैपनि समयमा प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताए ।

उप मेयर अनिता लामाले बूढानीलकण्ठ नगरपालिका थुप्रै राष्ट्रिय खेलाडी भएको नगरपालिका भएको बताउदै खेलाडीले सुविधा सम्पन्न पूर्वाधारमा प्रशिक्षण गर्न पाउन् भन्ने उद्देश्यले नगरपालिकाले खेलकुद गतिविधिसंगै पूर्वाधार निर्माणलाई विशेष महत्वका साथ अगाडि बढाइरहेको बताइन् ।

नगरवासी राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान अनुषा मल्लले पूर्वाधारले पनि बालवालिकालाई खेलप्रति आकर्षित गर्ने धारणा व्यक्त गर्दै आफूले सानैदेखि खेल्दै आएको आउटडोर कोर्टले हलको स्वरुप पाएकोमा खुसी व्यक्त गरिन् ।

बूढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङले बेलुकीको समयमा बालवालिकाका लागि १ महिनाको प्रशिक्षण सञ्चालन गर्ने बताए ।

उद्घाटनका अवसरमा राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान अनुषा मल्लको नेतृत्वमा महिला टोली र भेट्रान पुरुष टोलीबीच मैत्रीपूर्ण बास्केटबल पनि खेलाइएको थियो ।

उक्त अवसरमा नगरवासी पूर्व बास्केटबल खेलाडी सोहन थापा मगर, फुटबल खेलाडी सिद्धान्त खड्का र इन्डियन आईडलको शीर्ष १२ मा पुग्न सफल उज्ज्वल भट्टराईलाई प्रशंसा पत्र र नगदसहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close