पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगितालाई नमस्ते हस्पिटलको साथ

पोखरा स्पोर्ट्स । पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ । पोखरा क्लिक प्रा.लि. र पोखरा प्रबर्द्धन केन्द्रको संयुक्त आयोजनामा आगामी असोज ४ गते हुने सो पर्वतीय दौड प्रतियोगितालाई नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखराले पनि साथ दिने भएको छ ।

अस्पतालका मेट्रोन एलिना सिंह र प्रतियोगिता संयोजक दीननाथ बरालबीच सो प्रतियोगिताको हस्पिटल पार्टनर सम्बन्धमा सम्झौता भएको हो । सम्झौतावापत् अस्पतालले प्रतियोगिता अवधिभर एम्बुलेन्स सहित स्वास्थ्यकर्मी उपलब्ध गराउनेछ । करिब १४ वर्षअघि स्थापित नमस्ते हस्पिटलले पोखरा मुस्ताङचोक पार्दीमार्गमा आफ्नै अत्याधुनिक सुविधासम्पन्न भवनबाट सेवा दिँदैआएको अस्पतालका प्रबन्ध निर्देशक मदनकुमार रञ्जितकारले बताए । यहाँ विशेषज्ञ चिकित्सकसहित ओपीडी, ओटी, वार्ड, आईडब्लु लगायत चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा उपलब्ध छन् ।

पर्यटकीय राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष झैं यस वर्ष पनि विश्व पर्यटन दिवस सन्दर्भमा पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक बरालले बताए । विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने ८ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्ष माथिका भेट्रान्सतर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट हुनेछन् ।

खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एक हजार नगद मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने छ ।

यसैगरी, वडास्तरीय, खुला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सात हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा भाग लिने धावकले भदौ २५ गतेसम्म अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close