
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता ‘चौथो डायमण्ड रनिङ शिल्ड’ सम्पन्न भएको छ । कोभिड १९ को महामारी पश्चात पोखरामा पहिलो पटक आन्तरिक खेलकुद प्रतियोगिता डायमण्डले आयोजना गरेको हो । ‘अनुशासन, समृद्धिका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गत कार्तिक २२ गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण गरी सम्पन्न भएको छ ।

समापन कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज वहादुर गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउँदै खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राखे ।
१६ ओटा समूहको सहभागिता रहेको फुटबल प्रतियोगितामा भेट्रान्स समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा ९ ले चित्त बुझाएको छ । भेट्रान्स समूहले कक्षा ९ समूहलाई ४—३ गोलले पराजित गर्दै चौथो डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो ।
छात्र भलिबलको उपाधि कक्षा १२ व्यवस्थापन समूहले जित्यो भने छात्रा तर्फ पनि कक्षा १२ व्यवस्थापन समूह विजेता भएको छ । यसैगरि क्रिकेट तर्फ कक्षा १२ विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा ११ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ ।प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ संञ्चन श्रेष्ठ प्रथम भएका छन् भने सुसिल केसी दोस्रो हुन् सफल भएका छन् । त्यसैगरि छात्रा तर्फ अनुशा गौतम प्रथम र अंकिता गुरुङ्ग दोस्रो हुन् सफल भए ।
प्रतियोगितामा फुटबल तर्फ ६ गोल गर्दै भेट्रान्स समूहका सन्देश राज तिमेल्सिनाले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने कक्षा ९ का सविन थापा उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ सुजन थापा उत्कृष्ट खेलाडी र टोनिज गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ ममता गुरुङ्ग उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकर भएकी छन् ।
प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेकोमा विधान देउजा र रेशम गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।
विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायको सभापत्तित्वमा संचालन भएको समापन कार्यक्रमका कार्यक्रम माथि विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोकाले गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछाने र विद्यालयका शिक्षक नारायण प्रसाद पराजुलीले प्रतियोगिता र विद्यालयको विविध पक्षबारे प्रकाश पारेका थिए ।
