
पोखरा स्पोर्ट्स । विश्व युथ स्क्रयाबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ ।
नेपाली खेलाडीहरुमा अर्नव पाण्डे, प्रसिद्ध तिमल्सिना, निराजन पौडेल, प्रियन दाहाल, नित्यन्त चौलागाईं, त्रिसंगी श्रेष्ठ, सम्यम केसी, जेशिका श्रेष्ठ, खुसी श्रेष्ठ, युब श्रेष्ठ, तुसान खतिवडा, आयाम सापकोटा, आदित्यजंग मल्ल र सम्यम शर्माले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यु–१६ उमेरसमूहमको प्रतियोगितामा २४ चरणको खेल हुनेछ ।
वर्ल्ड इङलिस स्क्रयाबल प्लेयर एसोसिएसन (वेस्पा) को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजेन्द्र पौडेल तथा प्रशिक्षकमा अर्जुन पाण्डे, प्रशान्त दाहाल र विनय श्रेष्ठ छन् ।
नेपाली टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
स्क्रयाबल क्लब जिल्ला खेलकुद विकास समिति कास्कीमा दर्ता रहेको क्लबका केन्द्रिय अध्यक्ष केशवप्रसाद पराजुलीले जनाएका छन् । स्क्रयाबल अक्षरबाट शब्द बनाएर खेलिने खेल हो ।

