
पोखरा स्पोर्ट्स । पोखरा महानगरपालिका, जिल्ला खेलकुद समिति कास्की, र गणतन्त्र कोरियाको चियोङ योङ काउन्टी खेलकुद समितिबीच दुईवटा छुट्टाछुट्टै सम्झौता भएका छन् । खेलकुदको विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित मंगलबार पोखरा महानगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा सम्झौता सम्पन्न गरिएको हो ।

पहिलो सम्झौतामा पोखरा महानगरको तर्फबाट प्रमुख धनराज आचार्यको रोहबारमा महानगरका प्रमुख प्रशासकिय अधिकृत मुक्तीराम अर्याल र चियोङ योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ सियोकले हस्ताक्षर गरे भने दोश्रो सम्झौतामा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङ र हान ग्वाङ सियोकले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै चियोङ योङ काउन्टी, पोखरा महानगर र जिल्ला खेलकुद विकास समिति कास्कीले खेलकुद क्षेत्रमा आपसी समझदारी, सीप आदानप्रदान, खेलाडी आदानप्रदान, खेलकुद कार्यक्रमको आयोजना तथा प्रविधि र उपकरणमा सहकार्य गर्ने सहमति भएको छ ।
सम्झौताका प्रमुख उद्देश्यहरू
-गणतन्त्र कोरियाको चियोङ योङ काउन्टी र पोखरा महानगरबीच खेलकुदमार्फत मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्ने,
-खेलकुद गतिविधिबाट दुबै शहरका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूबीच सहयोग र आदान-प्रदान विस्तार गर्ने,
-पोखराका खेलाडीहरूलाई प्रदर्शन सुधार गर्न समन्वयसँगै प्रविधिमार्फत सहयोग गर्ने,
-कोरियाली खेलकुद सामग्री र सेवाहरू नेपालमा निर्यातका लागि सम्भाव्यता अध्ययन गर्नेसहकार्यका प्रमुख क्षेत्रहरू
-फुटबल, बक्सिङ, टेबल टेनिस, टेनिस, एथलेटिक्स, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, म्याराथन लगायतका खेलहरूमा पोखराका -खेलाडीहरूलाई कोरियाली विशेषज्ञता अनुसार प्रशिक्षण प्रदान गरिने ।
-दुबै शहरबीच नियमित मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिने ।
-कोरियाली प्रशिक्षकहरूद्वारा पोखराका खेलाडीहरूलाई निरन्तर तालिम दिइने ।
-अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पोखराको प्रतिनिधि टोलीको गठन र छनौट गर्ने ।
-खेलाडीहरूलाई खेल प्रविधि र नवीनतम अभ्यासहरूबारे जानकारी प्रदान गर्ने ।
-विद्यालयस्तरीय कार्यक्रम, प्रशिक्षण आदानप्रदान, मैत्रीपूर्ण खेलकुद, र तालिम सहयोग कार्यक्रम मार्फत युवाहरूबीच आदानप्रदान गर्ने ।
-पोखराका खेलकुद संस्था तथा क्लबहरूलाई व्यवसायिक बनाउने रणनीतिक सहयोग गरिने ।
-पोखरामा रहेका खेलकुदको सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसको सुरुआत र विकास गर्ने ।
सम्झौता पछि बोल्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले यो सहकार्यले पोखराको खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच, प्रविधि हस्तान्तरण, र सीप विकासका नयाँ ढोका खोल्ने भएकोले कोशेढुङ्गा हुने बताए । उनले भने, पोखरा महानगर र जिल्ला खेलकुदका लागि यो सम्झौता महत्वपूर्ण छ । कोरियाली पक्षसँगको सहकार्यले पोखराका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्राप्त गर्न ढोका खुलेको छ ।”
पोखरा महानगर र जिल्ला खेलकुदसंग भएको सम्झौता विशेष भएको बताउँदै प्रमुख अचार्यले दुबै समान प्रकृतिका सम्झौता रहेको बताए । उनले समग्र कास्कीसहित पोखरा महानगर खेलकुदको शहरको रुपमा स्थापित हुँदै गएकोले पनि यो सम्झौताले अझै महत्व राख्ने बताउँदै चियोङ योङ काउन्टि बीच मितेरी सम्वन्धको विकासका लागि पहल सुरू गरिएको जानकारी समेत् दिए ।
त्यस्तै, चियोङ योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ सियोकले पनि यो सम्झौता केवल कागजी दस्तावेजमा सीमित नरहने, बरु व्यवहारिक कार्यान्वयनका माध्यमबाट अझ परिस्कृत रूपमा अघि बढाइने बताए । उनले भने–“हामीले पोखरा महानगर र जिल्ला खेलकुद समितिसँग सम्झौता गर्न पाउँदा खुसी छौं । यो सम्झौताका लागि सम्झौता मात्रै होइन । हामी सानो कुराबाट यसको थालनी गर्दै यसलाई अझै परिस्कृत बनाउँदै अघि बढ्ने छौं ।”
कार्यक्रममा पोखरा महानगर पालिकाका कार्यकारी अधिकृत मुक्तीराम अर्याल, अग्रज खेलाडी एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, पोखरा महानगर पालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङलगायतले आफ्ना भनाई राख्दै गणतन्त्र कोरिया र नेपाल बीच लामो समय देखिको दौत्य सम्बनधलाई अझै प्रगाढ बनाउन यो सम्झौता अझै प्रभावकारी हुने बताए ।
यो सहकार्यले पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको रूपमा उभ्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ। पोखरा महानगर, जिल्ला खेलकुद विकास समिति कास्कीसंग कोरियाली काउन्टीले गरेको यो सम्झौता ऐतिहासिक समेत हो । चियोङ योङ काउन्टीले विभिन्न ७ वटा खेलहरुको प्रवर्द्धन एवं विकासका लागि महत्वपूर्ण मानिएको छ ।

