
पोखरा,
राष्ट्रिय च्याम्पियन रशिला महर्जन योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता २०७६ को तीन उपाधी निकट पुगेका छन् ।
नेपाल खेलकुद महासंघ निकट राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रशिला महर्जन महिला एकल, महिला युगल र यु-१७ गरि तीन विधाको उपाधी निकट पुगेकी हुन् ।
सेनाकी रशिलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेशिका गुरुङ्गलाई २१-१७, १८-२१, २१-१३ ले तथा छात्रा यु १७ तर्फ राजधानी युथ क्लब मोरङ्गकी रोज पाण्डेलाई २१-९, २१-१६ ले पन्छाउँदै उपाधी निकट पुगेकी हुन् । अब महर्जनले उपाधीका लागि महिला एकलमा अघिल्लो संस्करणकी विजेता नङ्गशल देवी तामाङ्ग संग प्रतिस्पर्धा गर्ने छिन् ।
रशिला अघिल्लो संस्करणमा सेनाबाट प्रतिनिधित्व गरेकी तामाङ्ग संगनै पराजित भएकी थिईन् । अहिले भोजपुरबाट खेलेकी तामाङ्गले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशीलाई २१–१७, २१–१२ ले पराजित गर्दै फाईनल यात्रा तय गरेकी हुन् । यसै गरि महिला युगलमा रशिलाले सेनाकी रञ्जना भट्ट संग मिलेर बाँकेकी संझना शर्मा र मोरङ्गकी सिमा राजबंशीको जोडीलाई २१–१५, २१–१७ ले पराजित गर्दै फाईनलमा एपिएफका जेशिका गुरुङ्ग र पुजा श्रेष्ठको जोडी संगको भेट पक्का गरिन् ।
जेशिका र पुजाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१५, ११–२१, २१–१७ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । यु १७ तर्फ रशिलाले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशी संग उपाधीका लागि प्रतिस्पर्धा गर्ने छिन् । रशिलाले राजधानी युग क्लब, मोरङ्गकी रोज पाण्डेलाई २१–९, २१–१६ ले तथा राजबंशीले सेनाकी रञ्जना भट्टलाई १६–२१, २१–१६, २१–१४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामीले भोजपुरका पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१–१२, २१–१४ ले पन्छाउँदै फाईनलमा चिर प्रतिद्वन्दि पूर्व राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ्ग संगको भेट पक्का गरे । अघिल्ला सात संस्करणका विजेता रत्नले आफ्नै क्लबका नविन श्रेष्ठ माथि २१–१४, २१–१९ को जित निकाले । यसैगरि दिपेश र रत्न युगलमा पनि उपाधीका लागि भिड्ने भएका छन् । युगल तर्फ दिपेशले विजित थापा मगर संग मिलेर बाँकेका रियाज अन्सारी र ईरफान अन्सारीलाई २१–१५, २१–१७ ले पन्छाए । यस्तै रत्नले नविन श्रेष्ठ संग मिलेर सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१५, २४–२२ को कठिन जित निकाले ।
पुरुष खुल्ला तर्फ सेनाका पविन लिनथेप र कैलालीका देवराज राना फाईनल प्रवेश गरेका छन् । पविनले एपिएफका प्रियान्सु सिंह क्षेत्रीलाई १९¬–२१, २१–११, २१–१८ ले तथा रानाले एपिएफकै निराजन देवकोटालाई २२–२०, २१–१८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । महिला खुल्ला तर्फ जेष्ट ब्याडमिनटन एकेडेमीकी मनिषा खड्का फाईनल प्रवेश गरेकी छिन् । खड्काले बाँकेकी सुष्मा श्रेष्ठलाई २२–२०, १३–२१, २१–१७ ले पराजित गर्दै उपाधीका लागि कैलालीकी प्रार्थना देउवा संगको भेट पक्का गरेकी हुन् । देउवाले जेष्टकी सफी खत्रीलाई २१–१६, २१–१० ले पाखा लगाईन् ।
छात्र यु–१७ उपाधीका लागि कैलालीका अमृत चौधरी र एपिएफका प्रियान्सु सिंह क्षेत्री भिड्ने भएका छन् । चौधरीले कञ्चनपुरका हिमाल चन्दलाई २१–१०, २१–१८ ले तथा क्षेत्रीले सेनाका भोजबहादुर गुरुङ्गलाई २१–१५, २१–१९ ले पराजित गरे ।
