
पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि टर्किश एयरलाइन्सलाई आधिकारिक एयरलाइन पार्टनरका रूपमा घोषणा गरेको छ । लिग आगामी भदौ २० देखि २८ सम्म पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने तय भएको छ ।
यस संस्करणमा विश्वका विभिन्न देशका १८ जना अन्तर्राष्ट्रिय खेलाडी नेपाल भित्रिनेछन् भने नेपालका उत्कृष्ट महिला भलिबल खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिताले सीप, जोश र विश्वव्यापी प्रतिनिधित्वको अद्वितीय संयोजन प्रस्तुत गर्ने आयोजकले दावी गरेको छ ।
सम्झौतामा टर्किश एयरलाइन्स नेपालका महाप्रबन्धक सेरकान बसार र लिगका सिइओ स्नेभी चापागाईंले हस्ताक्षर गरेका हुन् ।
महाप्रबन्धक बसारले टर्किश एयरलाइन्स विश्वमै सबैभन्दा बढी मुलुकमा उडान गर्ने एयरलाइन भएको उल्लेख गर्दै भनेका छन, “एभरेष्ट महिला भलिबल लिगसँग आधिकारिक साझेदारी गर्न पाउँदा उत्साहित छौं । यस सहकार्यमार्फत हामी खेल क्षेत्रमा महिला रोल मोडेललाई समर्थन गर्दै नेपाली भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्नेछौं ।”
त्यसैगरी लिगकी सिइओ चापागाईंले टर्किश एयरलाइन्सलाई स्वागत गर्दै भनिन्, “विश्वव्यापी उपस्थित र गुणस्तरप्रति प्रतिबद्धता हाम्रो दृष्टिकोणसँग मेल खान्छ । अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता र टर्किश एयरलाइन्सको समर्थनले प्रतियोगितालाई थप प्रतिष्ठित बनाएको छ ।”
टर्किश एयरलाइन्सले सन् १९३३ मा पाँच विमानसहित सुरुवात गरेको थियो । हाल यससँग ४९१ वटा विमान रहेको र १३१ देशका ३५३ गन्तव्यमा उडान भर्दै आएको कम्पनीले जनाएको छ ।
यसैगरी एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणले राष्ट्रिय खेल भलिबललाई विकेन्द्रित गर्दै पोखरामा अन्तर्राष्ट्रिय सहभागिता र महिला खेलकुदको उत्सव मनाउने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
