प्रजातन्त्र सेनानी आलोकको स्मृतिमा नवलपुरमा म्याराथन हुने

पोखरा स्पोर्ट्स । प्रजातान्त्रिक योद्धा यादवनाथ न्यौपाने (आलोक)को स्मृतिमा नवलपुरमा राष्ट्रियस्तरको म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । यस प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत धार्मिक, सांस्कृतिक सम्पदा र स्थानीय पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना, प्रदेश एथलेटिक्स संघ गण्डकीको प्राविधिक सहयोग, कावासोती वडा नं. १६ को व्यवस्थापन तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा पहिलो पटक नवलपुरमा म्याराथन आयोजना गर्न लागिएको हो । म्याराथन आगामी कार्तिक १ गते कावासोती नगरपालिकाको नवदुर्गा प्रादेशिक क्रिकेट खेल मैदानबाट सुरु हुने भएको छ ।

प्रतियोगिता नवदुर्गा प्रादेशिक क्रिकेट खेलमैदानबाट सुरु भई नमुना रंगशाला, डण्डा बजार, हुप्सेकोट, मध्यविन्दु, चोरमारा, राइनो गोल्ड कप मैदान, इटौरा चोक, गोछडा चोक हुँदै डण्डाको गैंडा चोकमा समापन हुनेछ ।  यस क्रममा सहभागीले ४२.१९५ किलोमिटर दुरी तय गर्नेछन् । म्याराथनसँगै स्थानीयको सहभागितामा ‘नवलपुर रन’ समेत आयोजना गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्माले प्रतियोगिताबाट नवलपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदा, चितवन राष्ट्रिय निकुञ्ज, अमलटारी–नन्दपुर होमस्टे र स्थानीय पर्‍यटनस्थललाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको बताए ।

खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने प्रयास गरिनुका साथै प्रजातन्त्रका लागि जीवन अर्पण गरेका आलोकलाई नयाँ पुस्तामा चिनाउन यो प्रतियोगिता फलदायी हुने उनको भनाइ छ । सदस्य सचिव शर्माले भने–“यो प्रतियोगिता मात्रै होइन । यो इतिहास जोडिएको खेलकुद कार्यक्रम हो । म सबै प्रदेश र विभागिय टोलीलाई सहभागिताका लागि सादर अनुरोध गर्दछु ।” 

प्रतियोगितामा सात प्रदेशबाट १४ जना र तीन विभागीय टोलीबाट ६ जना गरी जम्मा २० जना प्रतिस्पर्धी सहभागी हुनेछन् । विजेताले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार तथा दुई जना खेलाडीले सान्त्वना स्वरूप पाँच–पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष सेतबहादुर पुनले प्रतियोगिताको लागत करिब सात लाख रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिए ।

स्मरण रहोस्, प्रजातान्त्रिक सेनानी आलोकको नाममा २०५० सालमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारका निर्णयअनुसार “आलोक चक्रपथ” घोषणा गरिएको थियो, तर हालसम्म त्यसको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । उनको नाउँमा स्थापित सो चक्रपथ २०५० सालमा तत्कालिन राष्ट्रिय सभा सदस्य दुर्गा देवी भट्टराई र प्रतिनिधि सभाका सदस्य मझिलाल थारुको पहलमा  सरकारले घोषणा गरेको थियो  ।२०४२ सालमा रुपन्देहीमा तत्कालीन पञ्चायती सरकारले चलाएको गोली लागेर आलोक शहीद भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close