दशौंको तयारीका लागि जुम मिटिङ : मंसिरमा गर्न सुझाव

पोखरा स्पोर्ट्स । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी बारे सम्पन्न जुम बैठकमा सहभागिहरुले मंसिर भित्रै सम्पन्न गर्न सुझाव दिएका छन् ।

यूवा तथा खेलकुद मन्त्रालयको पहलमा बिहिबार सम्पन्न जुम मिटिङमा तयारी बारे व्यापक छलफल भएको र मंसिरमा गर्ने सुझाव सहभागिहरुले दिएका हुन् । बैठक बारे जानकारी दिंदै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष बैठकमा सबै सहभागिहरुले मंसिर भित्र दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न सहभागिहरुले सुझाव दिएको बताए ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा भएको बैठकमा सातै प्रदेशका खेलकुद मन्त्री तथा सदस्य–सचिवहरुसहित राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंकलाल घिसिङ सहभागी थिए ।

बैठकपछि जानकारी दिँदै उपाध्यक्ष आचार्यले सबै सहभागिहरुले मंसिरभित्रै प्रतियोगिता सम्पन्न गर्न सुझाव दिएको बताए । उनले भने, “सबै पक्षबाट उत्कृष्ट सुझाव आएका छन् । अब राखेप बोर्ड बैठकले अन्तिम मिति टुङ्गो लगाउनेछ ।”

सहभागिहरुले बोर्ड बैठक तत्काल बोलाउन पनि सुझाव दिएको उनले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्माले प्रतियोगिता मंसिरको दोस्रो सातासम्म आयोजना गर्ने प्रस्ताव अघि सारेको बताए । उनले भने, “जिल्ला छनोट, प्रदेश छनोट र बन्द प्रशिक्षणका लागि कम्तीमा ९० दिन आवश्यक हुन्छ । त्यसैले मंसिर दोस्रो सातासम्म प्रतियोगिता राख्नुपर्ने सुझाव मैले राखेको हुँ ।” 

यो संगै राखेपमा कार्यरत कर्मचारी र प्रशिक्षकहरु प्रदेशमा पठाउन र प्रशिक्षणलाई व्यवस्थित बनाउन समेत सहभागिहरुले बैठकमा प्रस्ताव गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close