एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा हुने

पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भएको छ ।

इन्फिनिटी ड्रिम्स प्रालिले एक विज्ञप्तीमार्फत प्रतियोगितामा पोखरामा हुने जानकारी दिएको हो । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले र नेपाल भलिबल संघले स्वीकृति प्रदान गरिसकेको आयोजकले जनाएको छ ।

सुन्दर पोखरा शहरलाई भलिबलप्रतिको उत्साह, खेलमैत्री वातावरण र दर्शकको उच्च सहभागिताका कारण उपयुक्त गन्तव्यका रूपमा चयन गरिएको आयोजकले जनाएको छ । विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यस पटक पोखरामा आयोजना गर्न लागिएको र यसले स्थानीय आर्थिक गतिविधि वृद्धि गर्न, खेलाडीलाई अवसर दिन तथा समुदायलाई संलग्न गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा ५४ स्वदेशी र १८ विदेशी खेलाडीको सहभागिता रहनेछ । स्वदेशी खेलाडीको अक्सन प्रक्रिया सम्पन्न भइसकेको छ भने सहभागी टोलीहरूले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाइरहेका छन् ।

यस संस्करणमा टिकटक इडब्लुभीएलको आधिकारिक मनोरञ्जन साझेदार रहनेछ । टिकटकले लिगको प्रचार–प्रसार, दर्शक सहभागिता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने जिम्मेवारी लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close