
पोखरा स्पोर्ट्स । नेपाली महिलाहरुको पर्व तीजको अवसरमा आयोजना हुँदै आएको लामाचौर कप भलिबल प्रतियोगितालाई रारा चाउचाउको उत्पादन हिमश्री फुड्सले मुख्य प्रायोजन गर्ने भएको छ ।
तीज महोत्सव एवं भलिबल प्रतियोगिताको आयोजक नव आदर्श सामुदायिक विकास केन्द्ले मंगलबार एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो । पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्डकपको मुख्य प्रायोजक हिमश्रीले पहिलो पटक भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन गर्न लागेको हो । छात्रातर्फको प्रायोजन भने एक्सपर्ट एजुकेशनले गर्ने भएको आयोजकले जनाएको छ ।
संस्थाको २९औं वार्षिकोत्सवको अवसरमा पोखरा १९ लामाचौरमा आयोजना कार्यक्रममा तीज गित प्रतियोगिता संगै खुल्ला पुरूष भलिबल तथा छात्रा भलिबल प्रतियोगिता समावेश हुनेछ ।
यस अघि हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रियस्तरको महिला तथा पुरूष प्रतियोगिता भने यो वर्षबाट स्थगित गरिएको संस्थाका अध्यक्ष ई.दिनेश भण्डारीले जानकारी दिएका छन् । अध्यक्ष भण्डारीका अनुसार राष्ट्रिय पुरूष प्रतियोगिताको स्थानमा खुल्ला पुरूष र छात्रा भलिबललाई निरन्तरता दिइएको छ ।
भदौ ५ गते सम्म अन्तिम दर्ता तोकिएको हाल सम्म खुल्ला पुरूषतर्फ १३ र छात्रातर्फ ११ टिमले दर्ता गराएका छन् ।
त्यस्तै, खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजेता टिमले नगद रु ३ लाख, उपविजेताले नगद रु १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख र उपविजेताले रु ५० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी खुल्ला पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र छात्रातर्फ नगद रु ५ हजार प्रदान गरिने छ ।
अध्यक्ष भण्डारीका अनुसार छात्रा प्रतियोगिता खेलाडी उत्पादनका दृष्टिले महत्वपूर्ण भएकाले त्यसलाई निरन्तरता दिएको बताए । सो कार्यक्रम सम्पन्न गर्न करिव ४५ लाख खर्च हुने आयोजकले जनाएको छ । भलिबल प्रतियोगिता भदौ ७ गते देखि १० गते सम्म सञ्चालन हुनेछ भने उद्घाटन भदौ ८ गते हुने प्रचार समितिका संयोजक विष्णु प्रसाद गौतमले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न विभिन्न् २२ वटा उपसमिति गठन गरिएको छ ।
