पट्राथिप सान्त्रकून पुनः ललितपुर क्विन्समा आबद्ध

पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि ललितपुर क्विन्सले थाइल्याण्डकी खेलाडी पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ ।

गत संस्करणमा उपविजेता बन्ने क्रममा क्विन्सको महत्वपूर्ण स्तम्भ बनेकी सान्त्रकूनले यसपटक उपाधि जित्ने लक्ष्य राखेकी छिन् । उनले भनिन्, “अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि सफल हुन सकेनौं, त्यो चोट अझै ताजा छ । यसपटक विगतका कमजोरी सच्याएर उपाधि जित्न टोलीसँगै पूरा प्रयास गर्नेछौं ।”

नेपालमा पहिलोपटक आएका बेला दर्शकले दिएको माया अझै स्मरणीय रहेको उल्लेख गर्दै उनले थपिन्, “गत वर्ष उपाधि जित्न नसक्दा दर्शकहरूले देखाउनुभएको माया र समर्थनलाई न्याय दिन सकेनौं भन्ने महसुस भयो । यसपटक भने उहाँहरूको माया प्रतिउचित न्याय दिने हाम्रो टोलीको दृढ विश्वास छ ।” साथै, उनले फेरि विश्वास गर्दै बोलाएकोमा ललितपुर क्विन्स परिवारप्रति आभार प्रकट गरिन् ।

ललितपुर क्विन्सले पनि सान्त्रकूनलाई पुनः अनुबन्ध गर्न पाउँदा टोली अझ बलियो बनेको प्रतिक्रिया दिएको छ । क्लबले भनेको छ, “व्यस्त तालिका हुँदाहुँदै पनि हाम्रो निमन्त्रणा स्वीकार गरी फेरि एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउन सहमत हुनुभएकोमा हामी धन्यवाद दिन्छौं ।”

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close