गण्डकी टेनिस ट्यालेन्ट हन्टमा ४० खेलाडी छनोट, सदस्य–सचिव शर्माद्वारा प्रशिक्षण शुभारम्भ

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश टेनिस संघले आफ्नो महत्वाकांक्षी योजना ‘ग्रो टेनिस’ अन्तर्गत टेनिस ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रममार्फत करिब २९० जनामध्ये ४० जना बालबालिका पहिलो चरणका लागि छनोट भएका छन् ।

शनिबार पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा आयोजित कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले छनोट खेलाडीहरुको प्रशिक्षण औपचारिक रूपमा शुभारम्भ गरे । कार्यक्रममा बोल्दै शर्माले विपन्न वर्गका बालबालिकालाई खेल मैदानसम्म ल्याउने गण्डकी टेनिसको प्रयास प्रशंसनीय रहेको बताए । उनले खेलाडीलाई अध्ययन छात्रवृत्ति, औषधोपचार तथा वार्षिक दुर्घटना बीमा जस्ता योजनासहित परिषद अघि बढिरहेको जनाउँदै खेलकुदलाई दिगो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याए ।

सदस्य सचिब शर्माले भने–“गण्डकी टेनिसले विपन्नवर्गका बालबालिकालाई खेल मैदान सम्म ल्याउन गरेको प्रयास प्रशंसनिय छ । हामी सहकार्य गर्दै अघि बढ्न तयार छौं ।” उनले खेलकुदको विकासका लागि निजी क्षेत्र संगै सरोकारवालाहरुलाई प्रवेश गराउन नितिगत रुपमा परिषद अघि बढेको जनाउँदै परिषदले सोको लागि समेत समिति गठन गरेर आफ्नो अभियानलाई मूर्तरुप दिन लागेको बताए ।

प्रदेश खेलकुद परिषदले खेलाडीहरुलाई अध्ययन छात्रवृति, औषध उपचार र वार्षिक आकस्मिक दुर्घटना विमा समेत गरेर त्यसको कार्यान्वयन संगै सुरूवात समेत गरेको सदस्य सचिब शर्माले बताए । “देशलाई चिनाउने खेलाडी हो । राष्ट्रिय झण्डा फहराउँदै अन्तर्राष्ट्रिय ऐरिनामा पुग्ने एकमात्र शक्ति भनेको खेलाडी नै हो भन्ने स्थापित छ”, उनले भने, “सबै खेलाडीका अभिभावकहरुलाई आफ्ना छोराछोरीहरुलाई राष्ट्रको गहनाको रुपमा स्थापित गर्न परिषद संकल्पित छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छौं ।”

त्यसैगरी, समाजसेवी एवं केसी ग्रुपका निर्देशक किरण केसीले कार्यक्रमप्रति समर्थन जनाउँदै निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, गण्डकी टेनिस संघका सल्लाहकार तथा पोखरा पर्यटन भ्रमण वर्षका संयोजक गोपी भट्टराईले निजी क्षेत्रको सक्रियताले खेलकुद विकासलाई गति दिने बताउँदै पोखराको समृद्धिका लागि पनि खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

गण्डकी टेनिस संघका अध्यक्ष बिनोद कायस्थले खेल्छ गण्डकी कार्यक्रमको सफलताले नै गण्डकी टेनिसले ग्रो टेनिस कार्यक्रम अघि सारेको जनाउँदै प्रदेशमा व्यवसायिक खेलाडी उत्पादनका लागि यो कार्यक्रमले मूर्तरुप लिने बताए । गण्डकीबाट उत्पादित एक दर्जन भन्दा बढि टेनिस खेलाडीहरु स्वदेश र विदेशमा रहेर टेनिसको माध्यमबाट स्वरोजगार बनेको बताउँदै उनले भने–“गण्डकी टेनिसले १० जना विपन्न वर्गका बालबालिकालाई ८ वर्ष सम्म निरन्तर प्रशिक्षण संगै उनीहरुको अध्ययनका लागि कार्यक्रमलाई अघि बढाएको छ । यो कार्यक्रमले उत्कृष्ट टेनिस खेलाडी उत्पादन संगै उनीहरुको स्वरोजगारमा टेनिसको भूमिका रहनेछ ।”

कार्यक्रमकै क्रममा निजी कारणले केही दिनका लागि अमेरिका प्रस्थान गर्न लागेका अध्यक्ष कायस्थलाई बिदाइ गरियो । उनको अनुपस्थितिमा उपाध्यक्ष लोकबहादुर गुरुङ कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन् ।

संघका महासचिव नविन चालिसेले ट्यालेन्ट हन्टमार्फत छनोट भएका ४० खेलाडीलाई पहिलो चरणमा ६ महिनाको प्रशिक्षण दिइने जानकारी दिए। त्यसपछि संख्या क्रमशः घटाउँदै अन्तिममा १० खेलाडीलाई आठ वर्षका लागि विशेष क्याम्पमा राखिनेछ। छनोट भएका सबै बालबालिका सरकारी विद्यालयमा अध्ययनरत छन्। पहिलो चरणमा ३२ बालक र ८ बालिका छनोट भएका छन् ।

नेपालको टेनिस इतिहासमा पहिलो पटक सञ्चालन गरिएको यस कार्यक्रमको उद्घाटन समारोहमा संघका उपाध्यक्ष लोकबहादुर गुरुङ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, प्रशिक्षक तथा संयोजक अनु जोनलगायत अभिभावकहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close