किर्तिमानी धावक ले.रि गुरुङले पर्वतीय दौडको प्रथम पुरस्कार दिने

पोखरा स्पोर्ट्स । किर्तिमानी धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ले.रि.कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता–२०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । पर्वत जिल्ला खाल्टे जन्मस्थान भएका गुरुङले प्रथम हुने धावकका लागि ५० हजार रुपैयाँ नगद पुरस्कार उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्र सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिता संयोजक दीननाथ बरालबीच आदान–प्रदान गरिएको थियो । बेलायतमा बसोबास गर्दै आए पनि जन्मभूमि र खेल पर्यटन प्रवर्द्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै यसलाई दिगो रूपमा आयोजना गर्न सुझाव दिएका छन् । उनले भने, “कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुशी लागेको छ।”

पूर्व अध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भन्दै खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राख्ने गुरुङको योगदान अविस्मरणीय रहेको बताए । संयोजक बरालका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ र बाँकी पुरस्कार प्रायोजनका लागि विभिन्न संघ–संस्थालाई आह्वान गरिएको छ ।

सम्झौता कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पोखराका अग्रज फोटो पत्रकार सुरदर्शन रञ्जितलगायतको उपस्थिति थियो ।

कुसाङ गुरुङको परिचय र उपलब्धि
ले.रि गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्दै गिनिज वर्ल्ड अफ बुक रेकर्डमा नाम दर्ता गराएका छन् । एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्ने धावक गुरूङ पिता दिलबहादुर गुरुङ र माता धनसिरी गुरुङका जेष्ठ सन्तान हुन् । उनले प्रारम्भिक शिक्षा जनज्योति निम्न माध्यमिक विद्यालय र माध्यमिक तह शहीद माध्यमिक विद्यालय, पञ्चमूल, स्याङ्जाबाट पूरा गरेका थिए ।

सन् १९८३ मा बेलायती सेनामा भर्ती भई २/२ गोर्खा राइफल्समा नियुक्त गुरुङले १९८९ मा ‘प्यारिस ट्रफी’ प्राप्त गरे । सन् १९९४ मा पहिलो रोयल गोर्खा राइफल्समा परिणत भई प्रशिक्षकका रूपमा उत्कृष्ट योगदानका लागि १९९५ र १९९६ मा ‘कमाण्डर ट्रफी’ प्राप्त गरे । फकल्यान्ड आइल्यान्डमा तैनाथ रहँदा असाधारण कार्यका लागि ‘कमाण्डर फकल्यान्ड आइल्यान्ड कमेन्डेसन’ बाट सम्मानित भएका थिए ।

२००२ मा महारानी एलिजावेथ द्वितीयबाट लेफ्टेनेन्टमा पदोन्नत गुरुङले २४ वर्षको सेवा पूरा गरी अवकास पाए । उनले ‘कोटा किनाबालु धावन प्रतियोगिता’ लगातार तीन वर्ष जित्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरे । ब्रिटिस फोर्सेस हङकङ क्रस कन्ट्री १० पटकभन्दा बढी जितेका गुरुङले अन्य थुप्रै अन्तर्राष्ट्रिय र राष्ट्रिय दौडमा पदक प्राप्त गरेका छन् । समाजसेवामा सक्रिय गुरुङ विभिन्न प्रतिष्ठित संस्थामा आवद्ध छन् र गोर्खा कपदेखि तमु प्रतिष्ठानका परोपकारी कार्यमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

पुरस्कार विवरण
प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । द्वितीय, तृतीय, चतुर्थ, पञ्चम र छैटौँदेखि दशौँ स्थानसम्मका विजेताले क्रमशः ३० हजार, १५ हजार, ७ हजार, ३ हजार र जनही १ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी, वडास्तरीय खुला, महिला तथा यू–१६ वर्गका विजेताले जनही १५ हजार र उपविजेताले जनही ७ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close