
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मंसिरमा सञ्चालन गर्ने संगै दशौं राष्ट्रिय खेलकुदका लागि छुट भएका खेलाडीहरुको पुनः दर्ता प्रक्रिया अघि बढाउने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ ।
शुक्रबार प्रदेश खेलकुद संघहरुको बैठकमा सदस्य सचिब श्रीधर शर्माले सो प्रस्ताव अघि सार्दै तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत जुट्नु पर्ने भएकोले परिषदले मंसिरको पहिलो हप्ता भित्र जिल्लास्तरीय र अन्तिम साता भित्र प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्ने गरी बैठकले तय गरेको सदस्य सचिब शर्माले जनाएका छन् ।
‘सबै जिल्ला खेलकुद विकास समितिहरुलाई मंसिरको दोस्रो साता भित्र आफ्नो प्रतियोगिता सम्पन्न गरिसक्नु पर्नेछ’, सदस्य सचिब शर्माले भने–‘आजको प्रदेश खेलकुद संघको बैठकबाट हामीले महत्वपूर्ण सुझाव पाएका छौं । जसबाट हामीले समयमा नै राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्नेछौं ।’
यसका साथै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी दर्ता छुट भएको दर्ता प्रक्रियाका लागि समेत सबै खेल संघहरुलाई आह्वान गरेको छ । यसका लागि २०८२ भदौ मसान्त सम्म सबै खेलाडीहरु दर्ता गरिसक्नु पर्ने परिषदले जनाएको छ ।
