
पोखरा स्पोर्ट्स । कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले खेलकुद प्रतियोगिता आयोजना, आन्तरिक स्रोत परिचालन, कर्मचारी नियुक्ति, वार्षिक प्रगति समीक्षा, अन्तर्राष्ट्रिय सहकार्य र खेलकुद सामग्री वितरणलगायतका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले आन्तरिक स्रोत परिचालनका लागि पोखरा रंगशालामा बोरीङ खानेपानी बिक्री वितरण गर्ने संगै लाहुरे ट्रेनिङ सेन्टरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । साथै, जिल्लास्तरीय ब्याडमिन्टन, ह्यान्डबल, फेन्सिङ र फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गर्ने र यसको प्रस्ताव तयार गर्ने जिम्मेवारी सदस्य रामचन्द्र गिरीलाई दिइएको छ ।
पदाधिकारी जिम्मेवारी तोक्दै, भौतिक पूर्वाधार संरक्षण मर्मत–सम्भार संयोजकमा उपाध्यक्ष तिलक बहादुर अधिकारी, विद्यालय–कलेज समन्वय संयोजकमा मिन बहादुर गुरुङ, खानेपानी–बिजुली व्यवस्थापन संयोजकमा डिल्लि जंग गुरुङ, रंगशाला सरसफाइ व्यवस्थापन संयोजकमा प्रजापति गुरुङ र स्थानीय तह समन्वय संयोजकमा टेक बहादुर राना मगरलाई तोकिएको छ ।
आर्थिक वर्षको प्रगति समीक्षा गर्दै खेल संघहरूको नवीकरण, दर्ता, अधिवेशन र प्रशिक्षण अभिलेखीकरणको जिम्मेवारी सदस्य हिमाल गुरुङ र असिम सुवेदीलाई दिइएको छ । कार्यालय व्यवस्थापन तथापोखरा रंगशालामा खानेपानी र बिजुली व्यवस्थापनका लागि पलम्बर र इलेक्ट्रिसियन नियुक्त गर्ने निर्णय गरिएको छ ।
बैठकले आर्थिक वर्षमा प्राप्त आम्दानी तथा खर्च पारदर्शी रूपमा अभिलेख राखी, प्रदेश खेलकुद परिषद्को स्वीकृतिपश्चात अनुमोदन गर्ने निर्णय गरेको छ ।
साथै, तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका पूर्व उपाध्यक्ष सुनिल कुमार गुरुङ, प्रदेश खेलकुद परिषद्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गण्डकी, श्री सत्य साई केन्द्र रानिपौवालगायतलाई पोखरा रंगशाला हरियाली विस्तार र खेलकुदमैत्री वातावरण निर्माणमा पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गरिएको छ।
बैठकले चेओङ याङ काउन्टी खेलकुद समिति (कोरिया) सँग खेलकुदमैत्री सम्बन्ध सुदृढ गर्दै सहकार्यका लागि समझदारी प्रक्रिया अघि बढाउने र खेल संघहरूलाई खेलाडी संख्या, पदक प्राप्ति तथा पूर्वाधारको आधारमा खेलकुद सामग्री वितरण गर्ने निर्णय पनि गरेको छ।
बैठकमा उपाध्यक्ष तिलक बहादुर अधिकारी, सचिव अन्जु के.सीलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
