
पोखरा स्पोर्ट्स । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेल संघ समन्वय समितिसहित विभिन्न चार वटा समिति गठन गरेको छ ।
शुक्रबार प्रदेश खेदकुद परिषद गण्डकीद्वारा प्रदेश खेलकुद संघहरु संग सम्पन्न बैठकले चार वटा विभिन्न समिति गठन गरेको हो । परिषद संग समन्वय गरी खेलकुद प्रतियोगिताहरु तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाउन ती समिति गठन गरिएको परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् ।
परिषदको सभाहलमा सम्पन्न बैठकले प्रदेश खेलकुद संघ समन्वय समितिको अध्यक्ष केशव पाठक र सचिबमा योगेन्द्र शेरचनलाई चयन गरेको छ । त्यस्तै टेक्निकल समितिको संयोजकमा हरिप्रसाद पराजुली र सचिबमा लेखनाथ लम्साल, रेफ्रि समितिको संयोजकमा चित्र बहादुर थापा र सचिवमा श्याम बहादुर श्रेष्ठलाई चयन गरेको छ ।
प्रदेश खेलसंघको संयोजकमा चयन भएका पाठक लामो समय देखि खेलकुद पत्रकारितामा छन् भने उनी प्रदेश ह्याण्डबल संघको अध्यक्ष हुन् । त्यस्तै सो समितिका सचिव शेरचन अन्तर्राष्ट्रिय आर्चरी खेलाडी हुन् । उनी प्रदेश आर्चरी संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
टेक्निकल समितिका संयोजक पराजुली पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हुन् । उनी नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष लगायत नेपाल भलिबल संघको सल्लाहकारमा आसिन छन् । सो समितिका सचिब लम्साल पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन् । भलिबलको प्रशिक्षक समेत रहेका उनी हाल गण्डकी विश्वविद्यालयमा खेलकुद विषयमा आठौं सेमेष्टरमा अध्ययनरत छन् ।
त्यस्तै, रेफ्रि समितिको संयोजकमा चयन भएका थापा ह्याण्डबलका राष्ट्रिय रेफ्रि हुन् । कास्की ह्याण्डबल संघका अध्यक्ष समेत रहेका उनी गण्डकी बोर्डिङमा खेल शिक्षकको रुपमा कार्यरत छन् । त्यसै गरी सो समितिका सचिब श्रेष्ठ प्रदेश सेपाकताक्रो संघका अध्यक्ष हुन् ।
गठित सबै समितिहरु सात–सात सदस्यिय हुने र बाँकी सदस्यहरु पछि पुर्ती गर्ने सदस्य सचिब शर्माले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताहरुको व्यवसायिक प्रवर्द्धन अध्ययन समितिको संयोजकमा जगन बहादुर गुरूङलाई चयन गरेको छ । जसको सदस्यमा पवन प्रजापती, महेश पौडेल, निलकण्ठ ढकाल र डिवी नेपालीलाई चयन गरिएको छ ।
गण्डकी प्रदेश भित्र नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश सरकार, प्रदेश खेलकुद परिषद, प्रदेश खेलकुद संघ र जिल्ला खेलकुद विकास समितिहरुले आर्थिक वर्ष २०८२/०८३ मा आयोजना हुने जुनसुकै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको माध्यमले उद्योग/व्यवसाय प्रवर्द्धन गर्नका लागि विज्ञापन निजी तथा विभिन्न सामाजिक संघ संस्थाहरुबाट खेलकुद प्रतियोगिताहरुमा प्रायोजक अथवा आर्थिक सहयोग जुटाउने उद्धेश्यले विभिन्नस्तरका प्रतियोगिताहरुको न्यूनतम दररेट तोक्न अपनाउनु पर्ने बाट विधि र प्रक्रियालाई समेत परिषदलाई सिफारिस गर्न सो समिति गठन गरिएको सदस्य सचिब शर्माले जनाएका छन् ।
समितिलाई १५ दिन भित्र आफ्नो सुझाव सहितको प्रतिवेदन बुझाउन समेत बैठकले निर्णय गरेको छ ।
प्रदेश खेलकुद परिषदले प्रदेश र जिल्लामा दर्ता रहेका विभिन्न खेल संघहरुलाई सहयोग जुटाउने गरी पहिलो पटक यस्तो अभियान थालिएको जनाएको छ ।
