
पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५’ को अवसरमा एसियामा एक मात्र प्रतियोगिता ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा हुने भएको छ ।
हिमालयन चेस एकेडेमीले कोशी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गर्न लागेको यो प्रतियोगितामा एक सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एकेडेमीकी संस्थापक मोनालिशा खम्बूका अनुसार फिडेले यस वर्ष चेसमा महिलाको सहभागिता बढाउन विशेष पहल गरिरहेको छ । प्रतियोगितामा ओपन, विद्यालय तथा विभिन्न उमेर समूह गरी आठ स्पर्धा रहने छन्, जसमा सबै अनरेटेड खेलाडी सहभागी हुनेछन् ।
कोशी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईले महिला चेस खेलाडीको संख्या नेपालमा न्यून भएको बताउँदै ‘हिमालयन क्वीन्स ग्याम्बिट’ ले सहभागिता वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । सेन्ट जेभियर कलेज प्रतियोगिताको शैक्षिक साझेदारको रूपमा रहेको छ ।
प्रतियोगिता सेन्ट जेभियर कलेज, थापाथलीको वाट्रिन हलमा हुने स्वीस लिग प्रणालीमा आधारित सात राउन्डको र्यापिड चेस प्रतियोगितामा प्रत्येक खेलाडीलाई प्रति खेल १० मिनेट दिइनेछ । खुलातर्फ शीर्ष तीन खेलाडी र विद्यालयतर्फ शीर्ष तीन स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै गर्ल्स यू–१०, यू–१३, यू–१६ र ५० वर्षमाथिका भेट्रान समूहका खेलाडीका लागि छुट्टै स्पर्धा पनि हुनेछन् ।
हिमालयन चेस एकेडेमीले यसअघि गत वर्ष ‘हिमालयन तीज टोर्नी’ आयोजना गरिसकेको छ । २०८० चैतमा स्थापना भएको एकेडेमीले अहिलेसम्म एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, प्याट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस च्याम्पियनसिप लगायत आठवटा प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।
एकेडेमीले चेस प्रवर्द्धनका लागि पाँच स्तरका कोर्समार्फत थापाथली र भक्तपुरमा १ सयभन्दा बढी खेलाडीलाई प्रशिक्षण दिँदै आएको छ । अनलाइन कक्षा, विद्यालय तथा सामुदायिक कार्यशाला, साथै अन्तर्राष्ट्रिय मास्टर अतनु लहिरीको विशेष प्रशिक्षण पनि सञ्चालन गरेको छ ।
