राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीको शालिक बनाइने

पोखरा स्पोर्ट्स । म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन तथा म्याग्दीकी स्थायी बासिन्दा अरुणा शाहीको शालिक बनाउने घोषणा गरेको छ ।

नेपालको महिला भलिबलमा अनुकरणीय योगदान दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलताको शिखरमा पुगेकी शाहीलाई विश्वस्तरीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उज्यालो बनाएको भन्दै समितिले विशेष सम्मानका साथ यो घोषणा गरेको जनाएको हो ।

गाउँगाउँदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेकी शाहीले दक्षिण एशियाली खेलकुद (साग) देखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्दै नेपाली महिला भलिबलको उचाइ बढाउन उल्लेखनीय योगदान दिएकी छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिकाबाट भलिबल यात्रा सुरु गरेकी शाहीले २०१३ मा काठमाडौंमा भएको महिला भलिबल च्याम्पियनसिपमार्फत राष्ट्रिय टिममा स्थान बनाएकी थिइन् । उनले राष्ट्रिय टिमको कप्तानी गर्दै म्याग्दी तथा गण्डकी प्रदेशको खेलकुदको विकासमा प्रेरणादायी भूमिका खेल्दै आएकी छन् ।

समितिका अध्यक्ष सुमन श्रेष्ठले शाहीको उपलब्धि म्याग्दी र गण्डकी प्रदेशका लागि गौरवको विषय भएको उल्लेख गर्दै खेलाडीको मेहनत, प्रतिबद्धता र समर्पणबाट नै यस्तो सफलता सम्भव हुने बताएका छन् । समितिले अरुणाको सम्मानमा बनाइन लागिएको शालिकका लागि आवश्यक सहयोग र प्रचार–प्रसार गर्ने पनि जनाएको छ।

स्मरणिय के छ भने नेपाली राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्वा’ को शालिक लमजुङमा निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close