
पोखरा स्पोर्टस/तस्विर सुदर्शन रञ्जित । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा असोज २ गते देखि असोज २२ गते सम्म पोखरा रंगशालामा हुने “एन्फा राष्ट्रिय ए डिभिजन लिग फुटसल” शुरु हुँदैछ ।

एन्फा फुटसल लिग कमिटीले तयारी पुरा गरे संगै सहभागी टिमहरु पोखरा आएका छन । नेपाली फुटसलको इतहिासमा नै पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कारको फुटसल खेल्न पाउँदा खेलाडी र सहभागी टिमहरु उत्साहित त छन् नै तर नतिजा कस्तो हुने हो भन्ने बारे अन्यौलता भने छ । नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको उक्त प्रतियोगिता बारे सहभागी अधिंकांश टिमका प्रशिक्षक, म्यानेजर र टिम कप्तानहरुले सिक्ने अवसरका रुपमा लिएको बताएका छन ।
पोखरा रंगशालाको वहुउद्धेश्यिय कभर्ड हलमा राखिएको ह्याण्डबल म्याटमा हुने फुटसल प्रतियोगितामा पहिलो पटक अधिकांश टिमका खेलाडी भिड्दैछन त्यो पनि फुल फ्लेजको २० वाई ४० को कोर्टमा । नेपालमा अहिले सम्म यस्तो म्याटमा अभ्यास वा खेल्ने खेलाडीको संख्या न्यून नै छ त्यही भएर पनि प्रतियोगिता शुरु हुने एक दिन अघि भएको प्रि म्याच कन्फरेन्समा कोही पनि टिमका प्रशिक्षक र टिम कप्तान खुलेर वोल्न चाहेनन । उनीहरुको एक मात्र धारणा थियो–“हामी जित्न होइन सिक्न आएका छौं ।”
“हामीले राष्ट्रिय लिग पहिलो पटक सुविधा सम्पन्न कभर्ड हलमा खेल्दै छौं” गण्डकी प्रदेशबाट सहभागी टिम सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले भने–“हामी होम ग्राउण्ड भनेर घमण्ड गर्दैनौ मैदानमा खेलाडीले ‘इन्टेनसिटी’ कभर गरेन भने जुन सुकै वेला पनि नतिजा पल्टिन सक्छ ।”
यत काठमाडौका स्काइ गोल्सका प्रशिक्षक सन्जोग चाम्लिङ राईले भने आफूहरु जित्नका लागि पोखरा आएको बताए । उनले भने–“कोभिडका कारण हाम्रो प्रशिक्षणमा वाधा त परेको छ तर फुटसल के हो र कसरी खेल्नु पर्छ भन्ने हाम्रो बुझाई पनि रहने छ ।” यस्तै धुकु फुुटसल क्लवका प्रशिक्षक राज महर्जनले खेल जित्नु भन्दा पनि फुटसलको पहिचान स्थापित गर्न आफ्नो टिमको प्रयास रहने बताए ।
धरानबाट आएका राइजिङ क्लवका प्रशिक्षक युवेन्द्र गुरुङले आफ्नो टिममा युवा खेलाडीहरुको वाहुल्यता रहेको भन्दै आफ्नो टिम अन्तिम चारमा पर्न प्रयासरत रहने बताए । उनले भने–“सवै टिम स्ट्रोङ्ग नै छन तर हामी पृथक खेल्ने प्रयास गर्ने छौं ।”
गण्डकी प्रदेशबाट सहभागी रहेको पोखरा स्पोर्टस क्यासलको टिमका म्यानेजर ओम गुरुङले आफ्नो टिममा पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङ, विनोद गुरुङ र सुरज गुरुङ समेत रहेकोले यो प्रतियोगितामा नयाँ उर्जाका साथ खेल्ने बताए ।
