
पोखरा स्पोर्टस । पिएम कप महिला टि २० क्रिकेट छनौटमा स्याङजा बिजेता बनेको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सम्पन्न छनौट प्रतियोगितामा स्याङजाले आफ्ना तिन खेल जित्दै ६ अंकका साथ शिर्षस्थानमा रहँदै विजेता बनेको हो । यसै गरि तिन खेलमा २ जित र एक हारका साथ ४ अंक बटुल्दै उपविजेता बन्दा नवलपुर १ मा जित तथा २ खेलमा हारका साथ कुल २ अंकका साथ तेश्रो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा तिन उत्कृष्ट खेलाडीको उपाधिमा समेत स्याङजाले कब्जा जमाएको छ । वेष्ट बलरमा ज्योस्निका मरासिनी, वेष्ट व्याटरमा अञ्जली विक हुँदा प्लेयर अफ दि सिरिजको उपाधि अन्जली विक घोषित भएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जनाएका छन् ।
शुक्रबार एक मात्र खेल कास्कीले नवलपुर विरुद्ध जितेको छ । टस जितेर व्याटिङको निम्तो पाएको कास्कीले आफ्नो होम ग्राउण्डमा २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । जसमा ४१ रन एक्स्ट्रा रनको रुपमा उपहार स्वरुप कास्कीले पायो । सुमन खतिवडाले १३ बलमा ५ चौका प्रहार गर्दै ३० रनको महत्वपूर्ण पारी खेलिन भने गंगा बस्नेत र रचना चौधरीले समान १४–१४ रनको योगदान दिंदा सृष्टि जैशीले १३ रन बनाइन ।
नवलपुरका लागि आयुष्मा चापागाई, पुजा लामिछाने र यमुना पगेनीले समान २–२ विकेट हात पारे ।
यता नवलपुर जवाफी व्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतीमा ५० रनमात्रै जोड्न सक्यो । जसमा व्याटरले २० रन बनाए भने ३० रन एक्स्ट्रा रन उपहार स्वरुप प्राप्त गर्यो । धन कुमारी क्षेत्रीले सर्वाधिक ११ रन बनाइन् । कास्कीका लागि सृष्टि जैशी, यशोदा भुजेल र सुमन खतिवडाले समान २–२ विकेट लिए ।
तस्विरः योगेन्द्र श्रेष्ठ
