अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर

पोखरा स्पोर्ट्स । पोखरामा सञ्चालन हुने एभरेष्ट महिला भलिबल लिग (EWVL) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बईमा बसोबास गर्दै अभिनय, मोडलिङ र डिजिटल मिडियामा सक्रिय नेपाली नायिका अदिती बुढाथोकीलाई गुडविल एम्बासडर घोषणा गरेको छ ।

बिहीबार सार्वजनिक गरिएको विज्ञप्तिमा टिमले अदितीको खेलप्रतिको रुचि र सकारात्मक प्रभावलाई प्रमुख कारण बताउँदै यो नियुक्ति गरेको जनाएको हो । बास्केटबल, टेबलटेनिस र स्विमिङमा विशेष रुचि राख्ने अदितीले नेपाली महिला भलिबलको ऐतिहासिक प्रतियोगिता मानिने EWVL मा राजधानीको प्रतिनिधित्व गर्ने टिमसँग जोडिन पाउँदा खुशी व्यक्त गरेकी छन् ।

“जीवनमा केही क्षणहरू यस्ता हुन्छन् जसले हृदयलाई गहिरो रूपमा छोइदिन्छन् । EWVL को दोस्रो संस्करणमा काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर हुनु मेरो लागि त्यस्तै अनुभूति हो,” उनले भनिन् । अदितीका अनुसार, महिला एथलीटहरूको खेल प्रदर्शनले नयाँ पुस्ताका बालिकाहरूलाई साहसी, दृढ र सपनाप्रति समर्पित रहन प्रेरित गरिरहेको छ, जुन लिगको वास्तविक उद्देश्य हो ।

अदिती हालै लण्डनमा सम्पन्न वर्ल्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल प्रिजेन्टरको भूमिकामा रहेकी थिइन्, जहाँ उनले विश्वप्रसिद्ध क्रिकेटरहरूसँग अन्तर्वार्ता लिनुका साथै सामाजिक सञ्जालका लागि सामग्री उत्पादन गरेकी थिइन् ।

भारतको मुम्बईमा बसेर कलात्मक करिअर अघि बढाइरहेकी अदितीले नेपालमा पनि चलचित्र ‘कृ’ (२०१८) र ‘बाबरी’ (२०२३) मा अभिनय गरिसकेकी छन् । उनको अभिनय रहेको ‘देवयोल’ नामक अमेजन प्राइम सिरिज सार्वजनिक हुने तयारीमा छ। साथै, उनले ‘तु मेरा नही’, ‘इमान तु’, ‘माहिया तुयादा कर’, ‘इन्नी सी गल’, ‘परन्दा’ र ‘हावा बन्के’ जस्ता लोकप्रिय भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

काठमाडौं स्पाइकर्समा मार्की प्लेयरका रूपमा नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी छन् । टोलीमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द पनि छन् । क्लबले विदेशी खेलाडीमा बुल्गेरियन सेटर कोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ ।

दोस्रो संस्करणका लागि लोकबहादुर बुढा मुख्य प्रशिक्षक बनेका छन् । पहिलो संस्करणमा तेस्रो स्थानमा रहेको काठमाडौं स्पाइकर्सले यसपटक अझ बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close