काजखस्तानकी अलेना काठमाडौं स्पाइकर्समा अनुबन्धित

पोखरा स्पोर्ट्स ।  एभरेष्ट महिला भलिबल लिग (EWVL) को तयारी स्वरूप काठमाडौं स्पाइकर्सले काजखस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ ।  यससँगै टिमले दोस्रो विदेशी खेलाडीको नाम घोषणा गरेको हो ।

यसअघि काठमाडौं स्पाइकर्सले बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको थियो । २९ वर्षीय अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् । उनी एभिसी महिला च्याम्पियन्स लिगमा समेत अनुभव हासिल गरिसकेकी छन् ।

दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध पछि काठमाडौं स्पाइकर्सको टिम अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ । पहिलो सिजनमा काठमाडौंमा टर्की र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए ।

लिग नियमअनुसार एक टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । काठमाडौं स्पाइकर्सले तेस्रो तथा अन्तिम विदेशी खेलाडीको घोषणा चाँडै गर्ने जनाएको छ ।

पहिलो संस्करणमा तेस्रो स्थानमा रहेकाले यसपटक टिमले अझ बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। दोस्रो सिजनका लागि लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।

नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअरको रूपमा टोलीमा छिन् भने मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द पनि टोलीमा रहेका छन् ।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close