नेपालमा एक मात्र आधिकारिक ओलम्पिक कमिटि छ, कोही पनि भ्रममा नपरौं

पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि (एनओसी)ले ओलम्पिकको तदर्थ समिति अनधाकृत रुपमा जन्मिएको र नेपालमा एक मात्र ओलम्पिक कमिटि भएको जनाउँदै कोही पनि भ्रममा नपर्न भनिएको छ । 

अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले विज्ञप्ती जारी गर्दै नेपाल सरकारले गठन गरेको एनओसीको तदर्थ समिति केही अनाधिकृत व्यक्तिहरुको भेला मात्रै भएको जनाउँदै त्यस्तो समिति आधिकारिक नभएको र  कोही पनि भ्रममा पर्न नहुने जनाएको हो ।

जारी विज्ञप्तीमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहि अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव राजिव श्रेष्ठ रहेको एक मात्र ओलम्पिक कमिटि र सो कमिटि नै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, ओलम्पिक काउन्सिल अफ एसिया र एशोसियसन अफ नेशनल ओलम्पिक कमिटिबाट मान्यता प्राप्त रहेको जनाइएको छ ।

एनओसीका महासचिब श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“नेपालमा मान्यता प्राप्त एनओसी हुँदा हुदै केही अनाधिकृत व्यक्तिहरुको भेलाले ओलम्पिकको तदर्थ कमिटि गठन गरिएको छ । त्यस्तो भेलाबाट गठन गरिएका अनेकन तदर्थ समिति हुन सक्छन् । त्यस्ता कुनै पनि कमिटिहरु आधिकारिक होइनन् ।”

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको वडापत्र र नेपालको खेलकुद ऐन २०७७ को दफा ३७ ले समेत एक देश एक ओलम्पिक कमिटि रहन सक्ने स्पष्ट अवधारणा रहेकोले कुनै पनि अनाधिकृत भेलाले ओलम्पिक कमिटि गठन गर्न नसकिने विज्ञप्तीमा स्पष्ट गरिएको छ ।

जारी विज्ञप्तीमा गठन गरिएको भनिएको तदर्थ समितिले लेटर प्याड र छाप दुरपयोग गरिएको जनाउँदै सो सम्पती अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिको  मात्र रहेको र अनाधिकृत रुपमा प्रयोग नर्गन भनिएको छ । “लेटरप्याडमा प्रयोग गरिएको छाप, झण्डा र लोगो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको हो । यसको प्रयोग अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिले मात्र गर्न पाउँछ”, जारी विज्ञप्तीमा भनिएको छ–“नेपाल ओलम्पिकको झण्डा, लोगो र छाप अनाधिकृत रुपमा प्रयोग नर्गन यसै विज्ञप्तीमार्फत सूचित गर्दछौं ।”

नेपालमा ओलम्पिक गतिविधी गर्ने, अन्तर्राष्ट्रिय ओलम्पिक छाता भित्र आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्ने कार्य आधिकारीक ओलम्पिक कमिटिले मात्रै गर्दै आएको जनाउँदै आगामी दिनमा समेत आयोजना हुने त्यस प्रकारका प्रतियोगितामा सहभागिताका लागि आधिकारिक ओलम्पिक कमिटिबाट हुने भएकोले कोही पनि भ्रममा नर्पन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close