
पोखरा स्पोर्टस । पोखरामा प्रथम अन्तरविद्यालय विद्यालय छात्र/छात्रा सिक्स–ए–साइड हक्की प्रतियोगिता भोलीबाट सुरू हुने भएको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा ३४ टिमको सहभागिता हुने आयोजक कास्की जिल्ला हक्की संघले पोखरा स्पोर्ट्सलाई जानकारी दिएको छ ।
नेपाल हक्की संघ र प्रादेशिक हक्की संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा कास्की, तनहुँ र भक्तपुर गरी १७ विभिन्न विद्यालयको सहभागिता हुने हक्की प्रशिक्षक एवं कास्की हक्की संघका अध्यक्ष हित गुरूङले जानकारी दिए । ‘प्रतियोगिताको तयारी पुरा भएको छ । भोली (मंगलबार) मध्यान्ह हामी उद्घाटन गर्ने छौं,’ उनले भने ।
तीनदिन सम्म सञ्चालन हुने प्रतियोगिता छात्र/छात्रातर्फ गरी १७–१७ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नगद पुरस्कारसहित बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गण्डकी हक्कीका अध्यक्ष दिपक थापाले बताए ।
कास्कीको हक्की खेलको इतिहासमा पहिलो पटक ठूलो संख्यामा विद्यालयहरुको सहभागिता रहेको पहिलो पटक हो ।
खेल मैदान अभावमा जुझिरहेको हक्की खेल यतिबेला विद्यालयहरुमा भने लोकप्रिय बन्दै गएको छ । यता कास्की र गण्डकीका टिमका खेलाडीहरु भने पोखरा रंगशालाको साँघुरो धुले खेल मैदानमा प्रशिक्षण गरिरहेका छन् ।
यसै बीच, पोखरामा तीनदिन सम्म सञ्चालन हुने विद्यालयस्तरीय प्रतियोगिताका लागि नेपाल हक्की संघकी महासचिब सूवर्ण श्रेष्ठले सफलताको शुभकामना दिएकी छन् ।
राखेपकी कार्यकारी सदस्य समेत रहेकी श्रेष्ठले भनेकी छन्–‘भब्य सफलताको शुभकामना । यस्तै कार्यक्रमहरु सबै जिल्लाहरुले गर्ने हो भने नेपालमा हक्की खेलको विकास तीव्र रूपमा बिकास हुन्छ । कास्की जिल्ला हक्की संघको यो महत्वपूर्ण सुरूवातका लागि धन्यबाद ।’

