
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरूले प्रशासनिक कर्मचारी अभावका कारण कामकाज प्रभावित भएको भन्दै प्रदेश खेलकुद परिषदसँग तत्काल प्रशासनिक कर्मचारी व्यवस्था गर्न माग गरेका छन् ।
आइतबार प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको समीक्षा कार्यक्रममा ११ वटै जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरुले प्रशासनिक कर्मचारी अभावकै कारण खेलकुद गतिविधि सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको बताएका हुन् । कतिपय जिल्लामा कार्यालय पूर्णतया कर्मचारीविहीन छन् भने केही जिल्लामा प्रशिक्षक र प्राविधिकहरूलाई नै कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस सम्बन्धमा परिषद्का सदस्य–सचिव श्रीधर शर्माले समस्या गम्भीर भएको स्वीकार गर्दै भने, “प्रशिक्षकलाई प्रशासनिक जिम्मेवारी दिनु उचित होइन । यो हामी सबैका लागि जटिल विषय बनेको छ । यसले खेलाडीलाई दिने प्रशिक्षण प्रभावित भएको छ भने अर्कोतर्फ कार्यालय पनि व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन् ।”
बैठकमा सहभागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले प्रशिक्षकको अभावमा खेलाडीको क्षमतामा प्रत्यक्ष असर परेको बताए । उनले थपे, “प्रशासनिक ज्ञान नभएको व्यक्तिले कार्यालय सञ्चालन गर्दा थप समस्या आइरहेको छ। जसलाई जुन कामका लागि तोकिएको हो, त्यही भूमिकामा रहनुपर्छ । यो विषय सबै जिल्ला खेलकुदका अध्यक्षज्यूहरुले उठाउनु भएको छ ।”
सदस्य–सचिव शर्माले परिषद्ले जिल्ला खेलकुदको समस्याबारे गण्डकी प्रदेश सरकार र सम्बन्धित मन्त्रालयलाई आग्रह गर्ने जानकारी दिए । उनका अनुसार परिषद्कै कार्यालयमा १७ दरबन्दीमध्ये केवल ७ जनाले मात्र काम गरिरहेका छन्, जसले प्रशासनिक व्यवस्थापनलाई झन् जटिल बनाएको छ ।
समीक्षा कार्यक्रममा जिल्ला अध्यक्षहरूले राष्ट्रपति रनिङ्ग शिल्ड, दशौं राष्ट्रिय खेलकुद तयारी तथा आर्थिक वर्ष २०८२/०८३ का बजेट कार्यान्वयनसम्बन्धी प्रस्तुति पनि दिएका थिए ।
यस वर्ष प्रदेश सरकारले जिल्लास्तरीय खेलकुद कार्यक्रमका लागि ५५ लाख रुपैयाँ र कार्यालय सञ्चालनका लागि ३३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
