
पोखरा स्पोर्ट्स । पोखराका उदयमान टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इस्ट एसिया अन्तर्गत हुने एटीएफ यु–१४ ‘ए’ लेवल टेनिस प्रतियोगितामा सहभागी हुन मलेसिया जाने भएका छन् । साउन १४ देखि ३१ गतेसम्म क्वालालम्पुरमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा पौडेलले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

नेपाल टेनिस संघको सिफारिसमा एशियन टेनिस महासंघले आर्यषलाई ‘वाइल्ड कार्ड’ मार्फत छनोट गरेको हो । १२ वर्षीय आर्यषले आगामी तीन वर्षसम्म यु–१४ टुर्नामेन्टमा प्रतिस्पर्धा गर्न पाउने छन् । यस प्रतियोगितामा सहभागी खेलाडीहरूले विभिन्न चरण पार गर्दै एटीएफको वरीयता अंक संकलन गर्नेछन् ।
आर्यषको प्रस्थानको अवसरमा कास्की जिल्ला टेनिस संघले एक बिदाई समारोहको आयोजना गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार गुरुङले पोखराकै माटोमा हुर्किएका खेलाडी आर्यषले भविष्यमा ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय स्तरमा पोखराका खेलाडीले सहभागिता जनाउनु गौरवको विषय भएको भन्दै शुभकामना दिए ।
समारोहमा पोखराका अग्रज टेनिस खेलाडीहरु, नेपालका न १ टेनिस खेलाडी प्रदीप खड्का, अभिभावक, टेनिस संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

