
पोखरा स्पोर्टस । पोखरामा यू–१७ पुरूष फुटबल छनौट सुरू भएको छ । श्रीलंकामा आयोजना हुने “साफ यू १७ च्याम्पियनसिप”को तयारी स्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले खेलाडी छनौट सुरू गरेको हो ।
पोखरा रंगशालामा सञ्चालन सुरू भएको छनौटमा गण्डकी प्रदेशका ९ जिल्लाका २ सय ५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको छ ।
छनौट कार्यक्रमबाट गण्डकीबाट उत्कृष्ट ४० जना खेलाडीहरुलाई केन्द्रिय छनौटका लागि पठाइने गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
जिल्ला जिल्लाबाट तोकेको कोटा भन्दा बढि खेलाडी सहभागिता भएकोले छनौट कार्यक्रम एक दिन लम्बिन सक्ने महासचिब गुरूङले बताए । उनले भने–“हामीले कोटा तोकेका थियौं तर पनि सहभागिता उत्साहजनक छ ।”
बंगालादेशमा हालै सम्पन्न यू–२० महिला साफ च्याम्पियनसिपमा समेत ५ जना खेलाडी गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा पर्न सफल रहेको बताउँदै यस कार्यक्रममा समेत राष्ट्रिय टोलीमा पर्ने गरी खेलाडी छनौट गििरने उनले बताए ।
यो संगै गण्डकी फुटबल संघले ‘फिफा फुटबल’ कार्यक्रम यथासिघ्र सञ्चालन गर्ने तयारी समेत गरेको महासचिब गुरूङको भनाई छ । सो कार्यक्रमको औपचारिक कार्यक्रम साउन १५ गतेबाट काठमाण्डौ सुरू भए संगै गण्डकीमा समेत गर्ने तयारी भएको उनले बताए । सो कार्यक्रमका लागि २ सय ५० विद्यालयहरुले आफ्नो नाम दर्ता गराएका छन् ।
