‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम साउन १५ गते शुभारम्भ हुदै

पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा साउन १५ गतेदेखि दशरथ रंगशालामा ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमको औपचारिक शुभारम्भ हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर एन्फाले कार्यक्रमको बारेमा जानकारी दिएको हो । यसको मुख्य उद्देश्य विद्यालय तहका विद्यार्थीहरूलाई फुटबलमार्फत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउनु रहेको जानकारी दिइएको छ । 

फुटबल फर स्कुल्स कार्यक्रम फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित एक कार्यक्रम हो जसले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुऱ्याउने लक्ष्य राखेको छ । कार्यक्रमले फुटबललाई शिक्षणको एक माध्यमको रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई जीवनोपयोगी सीपहरू-जस्तै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीता-सिकाउन मद्दत गर्दछ ।

कार्यक्रम अन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण गरिनेछ, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम दिइनेछ र सिकाइलाई रमाइलो तथा व्यवहारिक बनाइनेछ । यो कार्यक्रम सबै वर्ग, जाति, लिङ्ग र भूगोलका बालबालिकाहरूलाई लक्षित गरी समावेशी र पहुँचयोग्य बनाइएको छ ।

नेपालमा यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ । देशभरका ७७ वटै जिल्लाका एक हजार ७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गरिने योजना रहेको यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको एन्फाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close