भारतीय महिला र पुरुष क्रिकेट टिमको बेलायतका राजासँग भेट

पोखरा स्पोर्टस ।   इङल्याण्ड भ्रमणमा रहेको भारतीय पुरुष र महिला राष्ट्रिय क्रिकेट टिमले राजा चार्ल्स तृतीयसँग भेट गरेको छ । मंगलबार लन्डनको सेन्ट जेम्स प्यालेसमा भएको भेटमा ७६ वर्षीय राजा चार्ल्सले भारतको लर्ड्स टेस्टको बारेमा कुरा गरेका थिए । उनले भारतीय कप्तान शुभमन गिललाई अन्तिम ब्याट्सम्यानको आउटको बारेमा प्रश्न गरेका थिए । 

जवाफमा गिलले भने- ‘हाम्रो अन्तिम ब्याट्सम्यान आउट हुने तरिका एकदमै दुर्भाग्यपूर्ण थियो, बल घुमेर विकेटमा लाग्यो । आशा छ, हामीलाई अर्को दुई खेलमा भाग्यको साथ मिल्ने छ।’

गिलले अगाडी भने- ‘मलाई लाग्छ, हामी यस मामिलामा भाग्यशाली छौं कि हामी जहाँ जान्छौं हामीलाई सधैं राम्रो समर्थन मिल्छ । यहाँ पनि त्यस्तै भएको छ । यद्यपि सुरुका केही दिनमा लर्ड्समा धेरै इङ्गल्याण्ड समर्थकहरू थिए, तर खेलको अन्तिम तीन दिनहरूमा हामीले दर्शकहरूबाट धेरै राम्रो समर्थन पाएका थियौं ।’

भारतीय क्रिकेटरले राजासँगको भेट निकै रम्रो भएको बताएका छन् । महिला टोलीकी कप्तान हरमनप्रीत कौरले राजासँगको भेट उत्साहजनक रहेको बताइन । हरमनप्रीतले भनिन्- ‘यो साँच्चै धेरै राम्रो अनुभव थियो । हामी पहिले धेरै पटक इङल्याण्ड आएका छौं तर राजालाई भेटेको पहिलो पटक हो ।’

भारतको पुरुष क्रिकेट टिमले अब चौथो टेस्ट जुलाई २३ देखि ओल्ड ट्राफोर्ड स्टेडियममा खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close