पोखरामा ‘युथ फर रोड सेफ्टी’ कार्यशाला सम्पन्न, ५० बढी युवाको सहभागिता

पोखरा स्पोर्ट्स । पोखरामा सडक सुरक्षासम्बन्धी दुई दिने ‘क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी’ विषयक कार्यशाला सम्पन्न भएको छ । दुई दिने कार्यशालामा पोखराका विभिन्न क्षेत्रका ५० भन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा र ‘युथ फर रोड सेफ्टी इन नेपाल’ अभियानको संयोजनमा आयोजित उक्त कार्यशाला इन्जिनियरिङ, पर्यटन, खेलकुद, कानुन लगायत विविध क्षेत्रमा संलग्न युवाहरुलाई लक्षित गरी आयोजना गरिएको थियो ।

सो कार्यक्रमको उद्घाटन गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले गर्दै युवाहरुलाई सडक सुरक्षामा नेतृत्वदायी भूमिका खेल्न प्रेरित गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा शैक्षिक संस्थामार्फत पनि यस्ता कार्यक्रम विस्तार गरिने योजना रहेको बताए ।

युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले सञ्चालन गरेको वर्कशपमा गण्डकी विश्वविद्यालयका सोनाम लामा, एफआईए वर्ल्ड काउन्सिलका सदस्य गोविन्द भट्टराई, तथा नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिव आशीष रौनियार लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यशालामा सहभागी युवाहरुलाई आफ्नो अभियान, उद्देश्य र कार्ययोजना बनाउन सिकाउने तथा एड्भोकेसी गर्न सक्षम बनाउने विषयमा विभिन्न प्रस्तुती, समूहगत कार्य र छलफल गरिएको थियो । ‘माई एड्भोकेसी वर्क प्लान’ शीर्षकमा गरिएको सत्रमा वस्तुस्थितिको विश्लेषण, कार्य योजना निर्माण र कार्यान्वयनको अभ्यास गरिएको थियो ।

सहभागीलाई १० समूहमा विभाजन गरी गरिएको समूहगत प्रस्तुतीकरणमा गण्डकी विश्वविद्यालयको टोली उत्कृष्ट रह्यो । विजेता समूहलाई पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरुको विवरण नासा नेपालमा अभिलेख गरिने जनाइएको छ ।

सहभागीमध्ये गण्डकी विश्वविद्यालय स्पोर्ट्स म्यानेजमेन्टका विद्यार्थीहरु, पर्यटन व्यवसायी ज्ञानेन्द्र थापा, पश्चिमाञ्चल क्याम्पसका विद्यार्थी विनय कुमार साह, तथा गण्डकी विश्वविद्यालयकी कानुनकी विद्यार्थी मनिषा काफ्ले तथा सञ्चारकर्मीहरुले कार्यशाला आफूहरुका लागि अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।

सन् २०१२ मा एफआईएका तत्कालीन अध्यक्ष जिन टोडको नेपाल भ्रमणका क्रममा सुरुवात भएको ‘युथ फर रोड सेफ्टी इन नेपाल’ एक राष्ट्रव्यापी युवा अभियान हो ।  यसले मोटरिङ नेपाल तथा नासा नेपालसँगको सहकार्यमा सडक सुरक्षा, बालबालिका र विद्यालय क्षेत्रको सुरक्षा, नेतृत्व विकास, नवप्रवर्तन तथा मोटर स्पोर्ट्समा पनि सक्रियता बढाइरहेको छ ।

पोखरामा सम्पन्न यो कार्यशालाले युवाको व्यक्तित्व विकास, सुरक्षित यातायात, र नेतृत्व कौशलताको क्षेत्रमा सकारात्मक प्रभाव छाडेको वर्ल्ड काउन्सिलका सदस्य भट्टराईले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close