
पोखरा स्पोर्ट्स । नेपालकी उदयीमान युवा मुवाथाई फाइटर शुष्मिता थापा मगर कर्मा फाइट लिग (KFL) को श्रीलंका संस्करणमा K-1 च्याम्पियन बन्न सफल भएकी छन् ।
भारतको मिजोरमकी अनुभवी एमएमए खेलाडी लालभेनहिमीलाई ५१ केजी तौल ल्फाई वेट क्याटोगरीमा पराजित गर्दै उनले उपाधि हात पार्न सफल भएकी हुन् । उपाधिसँगै उनले श्रीलंकन १ लाख रुपैयाँ बराबरको नगद पुरस्कार समेत जितेकी छन् ।
शुष्मिताको उत्कृष्ट प्रदर्शनले आयोजकहरूको ध्यान तानेको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले पोखरा स्पोर्टसलाई बताए । यही प्रदर्शनको आधारमा शुष्मितालाई अब अक्टोबरमा हुने K-1 को छैटौं संस्करणमा श्रीलंकाकी ‘अनडिस्प्युटेड च्याम्पियन’ निमिषा कुमारीविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर प्राप्त भएको छ । सकयानका प्रशिक्षक समेत रहेका क्षेत्रीले भने–’यो बहुप्रतिक्षित फाइट औपचारिक रूपमा घोषणासहित तय भइसकेको छ । शुष्मिताले अब अनडिस्पुटेड च्याम्पियन संग भिड्ने छिन् । हामी यसको तयारी नेपाल फर्किना साथ गर्नेछौं ।’
शुष्मिता निरन्तर आफ्नो खेल कौशल सुधार गर्दै गएको उनको प्रशिक्षकले बताए । प्रशिक्षक क्षेत्रीका अनुसार, “शुष्मिता अहिले विस्तारै परिपक्व हुँदै गइरहेकी छिन् । उनको लगनशीलता र आत्मविश्वास साँच्चिकै प्रेरणादायी छ । म शुष्मिता मात्र होइन, पोखरा र सम्पूर्ण नेपालमा थप व्यावसायिक फाइटर उत्पादन गर्ने लक्ष्यमा छु।”
यद्यपि, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन शुष्मितालाई आफ्नै खर्चमा जानुपरेको कटु यथार्थ पनि रहेको छ । कन्टेन्डर फाइट सिरीजका आयोजक समेत रहेका क्षेत्रीले नेपाली फाइटरहरूको अवस्थाबारे प्रकाश पार्दै भने, “हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रो टिमले प्रायः आफ्नै खर्चमा भाग लिनुपरेको छ । यो स्थिति निकै दुःखद र निराशाजनक छ। हामीलाई अझ धेरै प्रायोजनको आवश्यकता छ।”
उनले समय–समयमा आर्थिक सहयोग गर्ने साथीहरूलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।
अब शुष्मिता जापानसहितका अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नका लागि तयारीमा जुट्नेछिन् । युवावस्थामै यस्तो स्तरको सफलता हासिल गर्नु नेपाली मुवाथाई तथा सम्पूर्ण कम्ब्याट खेलहरूको लागि गर्वको विषय बनेको छ ।
अन्तर्राष्ट्रिय फाइटिङ रिङमा नेपाली पहिचान स्थापित गर्ने अभियानमा शुष्मिता थापा मगरको सफलता प्रेरणादायी बन्नेमा धेरैले विश्वास गरेका छन् ।
