पोखरा रंगशालामा बुधबारबाट ‘बलियो नेपाल यु–१९ क्रिकेट कप’ सुरु हुँदै

पोखरा स्पोर्टस । नेपालमा ग्रास रुट क्रिकेटको विकासका लागिे बलियो नेपाल यु–१९ क्रिकेट कप आयोजना हुने भएको छ ।

पोखरा रंगशालामा बुधबारबाट सुरु हुने उक्त प्रतियोगितालाई बलियो नेपाल न्युट्रिशन इनिसियटिभले टि–२० फम्र्याटमा आयोजना गर्न लागेको हो । ग्रास रुट क्रिकेटलाई प्रथामिकतामा राख्दै टि–२० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको पोखरामा आयोजित एक पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

न्यूट्रिसियन फुडको उत्पादक बलियो नेपालका वित्त व्यस्थापक प्रकाश बख्रेलले २०७८ साल देखी प्रतियोगिता संचालन गरेको बताउँदै पहिलो संस्करण लुम्बिनी प्रदेशमा, दोस्रो संस्करण बागमती प्रदेशमा सम्पन्न गरेको जानकारी दिए । खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उद्धेश्य अनुसार ग्रासरुट क्रिकेटको आयोजना गर्दै आइरहेको उनको भनाई थियो ।

सोही क्रममा बोल्दै नेपालका पुर्व कप्तान पारस खड्काले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । उनले नेपालमा ग्रासरुट स्तरका प्रतियोगिताको खाँचो रहेको र त्यसका लागि राज्यले पनि ध्यान दिन जरुरी रहेको सुनाए । पोखराको क्रिकेट मैदान विश्वकै उत्कृष्ट मैदान मध्येको रहेपनि यसको विकास हुन नसकेको बताउँदै खड्काले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गर्नुपर्नेमा जोड दिए ।

पोखराले पनि क्रिकेट एकेडेमी संचालन गर्दै आइरहेको र खेलाडी उत्पादन गर्ने थलो बनाएपनि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको खाँचो देखिएको उनको भनाई थियो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले पोखरामा ग्रासरुट प्रतियोगिता हुनु सुखद् पक्ष रहेको बताए । उनले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।

कास्की क्रिकेट संघको प्राविधिक सहयोगमा आयोजना हुने उक्त प्रतियोगिताको मुख्य ध्येय नै यूवा खेलाडीको उत्पादन रहेको जनाउँदै पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेट हवको रुपमा विकास गर्न सहयोग पुग्ने नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य छुम्वी लामाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

दुई समूहमा विभाजन गरी हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसै गरी म्यान अफ दि म्याचमा समेत नगद २ हजार ५ सय प्रदान गरिने छ ।

२७ गतेसम्म संचालन हुने प्रतियोगिताको पोखरा क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी र पल्सर सिइसिको सहभागिता रहेको छ ।

उक्त प्रतियोगिताको उद्घाटन बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यले गर्ने तय भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close