दोस्रो महिला फुटसल च्याम्पियनसिपको तयारी सुरूः ३२ टिमको सहभागिता लक्ष्य

पोखरा स्पोर्ट्स । एलिसन स्पोट्र्स प्रा.लि.को आयोजनामा दोस्रो संस्करणको महिला फुटसल च्याम्पियनसिप–२०८२ आगामी भदौ १८ गते काठमाडौंको पेप्सिकोलामा आयोजना हुने भएको छ । महिला फुटबल र फुटसलप्रति चासो राख्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितामा नेपालभरका महिला टिमले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको हो ।

प्रतियोगिता लिग कम नकआउट ढाँचामा खेलाइने आयोजक संस्थाका सचिव रुपेश श्रेष्ठले जानकारी दिए । सहभागिता जनाउने प्रत्येक टिमले ८ खेलाडी, १ कोच र १ टिम म्यानेजरसहित १० जनाको टिम तयार गर्नु पर्नेछ ।

प्रतियोगितामा १६ वर्षमुनिका खेलाडीले जुनियर र १६ वर्षमाथिका खेलाडीले सिनियर टिमतर्फ सहभागी हुन पाउनेछन् । सिनियरतर्फ राष्ट्रिय खेलाडी वा ए डिभिजन खेलिसकेका खेलाडीले पनि सहभागी हुन सक्ने अध्यक्ष सगुन थापा मगरले जानकारी दिए ।

पुरस्कार र नगद राशी
सिनियर विजेता टिमः रु. ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र
सिनियर उपविजेता टिमः रु. २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र
सिनियर उत्कृष्ट गोलकिपर/खेलाडीः जनही रु. २,५००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर विजेता टिमः रु. २०,०००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर उपविजेता टिमः रु. १०,०००, ट्रफी, मेडल, प्रमाणपत्र
जुनियर उत्कृष्ट गोलकिपर/खेलाडीः जनही रु. १,५००, ट्रफी, मेडल, प्रमाणपत्र

दर्ता आवेदन भदौ १५ गते आइतबार बेलुका ५ बजेभित्र बुझाइसक्नु पर्नेछ । सिनियरतर्फ ५,५०० रुपैयाँ र जुनियरतर्फ ३,००० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। सो समय पछिको आवेदन अस्वीकृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्देश्य नयाँ महिला खेलाडीहरूलाई उत्प्रेरित गर्नुका साथै राष्ट्रिय टिमसम्मको यात्रा सहज बनाउने रहेको आयोजकले आयोजकले जनाएको छ । २०८१ मा पहिलो संस्करणमा २० टिम सहभागी भएका थिए भने यसपटक कम्तीमा ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको आयोजक संस्थाकी उपाध्यक्ष एलिना मगरले जानकारी दिइन् ।

यो संस्करणको टुर्नामेण्टको थिम ‘She Wins’ (उनी जित्छिन्) भन्ने तय गरिएको छ । फुटबल वा फुटसलप्रति चासो राख्ने सबै महिलाहरूलाई सहभागिता जनाउन र सहयोग गर्न उपाध्यक्ष मगरले आह्वान गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close