नेपालका २० क्रिकेट खेलाडी प्रशिक्षणका लागि भारतको बैंगलुरु जाने

पोखरा स्पोर्ट्स ।  नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ ।

क्यानले भारतीय क्रिकेट कन्ट्रोल बोर्डको सहयोगमा भारतको बैंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा जुलाई २१ देखि अगस्ट ३ सम्म सञ्चालन हुने दोश्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीलाई पठाउने भएको हो ।

क्यानले बाँकी खेलाडीहरुको बन्द प्रशिक्षण शिविर नेपालमानै नियमित संचालनमा रहने जनाएको छ ।

प्रशिक्षणका लागि भारत जाने खेलाडीमा रोहितकुमार पौडेल, लोकेश बम, आरिफ शेख, रुपेश कुमार सिंह, प्रतिश जिसी, साहब आलम, आकाश चन्द, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, अनिल कुमार साह, भिम सार्की, कुशल मल्ल, विवेक कुमार यादव, रिजन ढकाल, युवराज खत्री, सागर ढकाल, नन्दन यादव, सन्दिप जोरा र शुभ कंसाकार रहेका छन् । 

नेपालले २०२६ को टी-२० विश्वकपको एशिया छनौट खेलको तयारीका लागि यो प्रशिक्षण गर्न लागेको हो । 

आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटमा नेपाल समुह बी मा परेको छ । समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् ।

९ देशले खेल्ने छनौट खेलमा हरेक समुहका शिर्ष दुई देश सुपर सिक्समा छनौट हुने छन् । सुपर सिक्समा एक अर्काविरुद्ध खेलेपछि शिर्ष तीन देशले २०२६ को विश्वकपमा छनौट हुनेछन् । त्यस्तै समुह ए मा मलेसिया, कतार र युएई छन् भने समुह सी मा ओमान, पीएनजी र सामोआ रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close