
पोखरा स्पोर्टस । पोखराको सामाजिक कृयाकलापमा अग्रणी भूमिका खेल्ने आमा समुहका सदस्यहरु दौडने भएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनहरुको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो रजत महोत्सवका अवसरमा आयोजना गरिरहेको ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत आमा समुह दौड हुने भएको हो । सो दौड ३ किमिको हुने छ ।
पोखरा रंगशालामा उक्त दौड यहि साउन १७ गते शनिबार हुने मासिक दौड प्रतियोगिताका संयोजक तेज बहादुर गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । पोखरा महानगरले अघि सारेको ‘स्वच्छ पोखरा, स्वस्थ्य पोखरेली’ नारालाई अघि सार्दै पोखरालाई दौडको शहरको रुपमा परिचित गराउन प्रतियोगिताले भूमिका खेल्ने गुरूङले बताएका छन् ।
मञ्चले विगत ६ महिना देखि लगातार रुपमा मासिक दौड आयोजना गर्दै आइरहेको छ । जसमा छात्र/छात्रा दौड, जनप्रतिनिधि दौड, सञ्चारकर्मी दौड सम्पन्न गरिसकेको छ ।
एक पटक दौडमा समावेश भएर दर्ता भएसकेपछि निरन्तर सोही चेष्ट नम्वरमा हरेक महिना दौडमा सहभागिता जनाउने सकिने गरी मञ्चले व्यस्थापन गरेको छ । जसअन्तर्गत लगातार पाँच पटक दौडमा सहभागि हुनेलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था मञ्चले गरेको छ ।
आमा समुह दौडका लागि पोखरा महानगर पालिकाका सबै आमा समुहहरुलाई साउन १६ गते सम्म नाम दर्ताका लागि आह्वान गरिएको मञ्चले जनाएको छ ।
