पोखराबाट नयाँ टोली ‘पोखरा निन्जाज’ इडब्लुभिएलमा प्रवेश

पोखरा स्पोर्टस । नेपालको एकमात्र फ्रेन्चाइज–आधारित महिला भलिबल प्रतियोगिता वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल-EWVL) मा पोखरा निन्जाज नामक नयाँ टोली प्रवेश गरेको छ ।

‘पोखरा निन्जाज’ले यो घोषणासँगै लिगको दोस्रो संस्करणको औपचारिक सुरुवात भएको जनाएको हो । यो संगै प्रतियोगितामा देशभरिका ६ टिम सहभागी हुनेछन् । यस अघि सो प्रतियोगितामा पोखराबाट प्रतिनिधित्व गर्दै पोखरा थण्डर्सले सहभागिता जनाएको थियो । 

पोखरा निन्जाज Vserve को स्वामित्वमा रहेको र हाल नेपाल सरकारको नियमानुसार दर्ता प्रक्रियामा रहेको जनाएको छ । टोलीको सञ्चालन र व्यवस्थापन भने लिग आयोजक संस्थाले नै गर्ने ‘पोखरा निन्जाज’द्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

पोखरा निन्जाज बारेमा
पोखरा निन्जाज वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा प्रतिस्पर्धा गर्ने पोखराबाट गठन भएको नयाँ टोली हो । गण्डकी प्रदेशको खेल परम्परा र भलिबलप्रतिको जनआकर्षणको जगमा यो टोली निर्माण गरिएको हो । टोलीले स्थानीय समर्थन, व्यावसायिक सोच र खेलको दिगो विकास लाई प्राथमिकतामा राख्दै अघि बढ्ने लक्ष्य राखेको छ ।पोखरा निन्जाजले राष्ट्रिय खेलको प्रतिस्पर्धात्मक विस्तारमा योगदान दिँदै, प्रदेशस्तरका प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा ल्याउने अवसर दिने उल्लेख गरेको छ ।

पोखरा निन्जाजले ‘हामी खेल्छौं, लड्छौं र जित्छौं’ भन्ने नारा अघि सार्दै विज्ञप्तीमा भनेको छ–“नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल गण्डकी प्रदेशमा अत्यन्त लोकप्रिय खेल मध्येको एक हो । यस प्रदेशबाट प्रत्येक वर्ष थुप्रै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आएका छन् । भीडभाडयुक्त प्रतियोगिता र स्थानीय उत्साहले गर्दा यहाँको भलिबल संस्कृति निकै समृद्ध छ ।”

‘पोखरा निन्जाज’ले नेपाली भलिबलमा क्षेत्रीय प्रतिनिधित्व बलियो बनाउने र प्रतिस्पर्धात्मक सहभागिता विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ । पोखरा निन्जाजका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “यो घोषणा गण्डकीको भलिबल समुदायको प्रतिबद्धता र खेलप्रतिको व्यावसायिक सोचको प्रतिविम्ब हो । पोखरा निन्जाज तयारी, गौरव र उच्च स्तरमा प्रतिस्पर्धा गर्ने अवसरको प्रतीक हो ।”

टोलीले चाँडै मार्की खेलाडी, प्रशिक्षक टोली, र गुडविल एम्बेसडर को नाम सार्वजनिक गर्ने जनाएको छ । साथै, यो घोषणाले १८ जुलाईमा हुने पहिलोपटकको प्लेयर अक्सन प्रती जनचासो झनै बढाएको उल्लेख गरेको छ ।

पोखरा निन्जाजले पोखरालाई आफ्नो होम ग्राउण्ड बनाउँदै सम्पूर्ण लिग खेल तालिकाअनुसार प्रतिस्पर्धा गर्ने भएको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग महिला खेलाडीहरूको लागि व्यावसायिक अनुभव, प्रशिक्षण र दृश्यता प्रदान गर्ने प्रमुख मञ्चको रूपमा उदाउँदै गएको विज्ञप्तीमा उल्लेख छ ।

इडब्लुभिएल एसियाकै पहिलो महिला फ्रेन्चाइज–आधारित भलिबल लिग हो । पहिलो संस्करण काठमाडौंमा सम्पन्न हुँदा नै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकको ध्यान आकर्षित गर्न सफल भएको थियो । यसको लोकप्रियता र संरचनाले नेपाली महिला खेलाडीहरूको भविष्य सुरक्षित गर्ने आधार तयार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close