‘शुभेक्षा खड्का’ ‘ईडब्लुभीएल’ की आधिकारिक ‘अक्सनर’ नियुक्त

पोखरा स्पोर्ट्स । नेपाली अभिनेत्री तथा मोडल शुभेक्षा खड्का एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) की आधिकारिक अक्सनर नियुक्त भएकी छन् । ईन्फिनिटी मिडियाले आयोजना गर्ने उक्त लिगको दोस्रो संस्करणका लागि उनलाई नियुक्त गरिएको हो ।

खड्काले आगामी भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने लिग अवधिभर सम्पूर्ण गतिविधिमा संलग्न हुने र विशेषगरी खेलाडी अक्सनको नेतृत्व गर्नेछिन् । उनी नेपाली भलिबल इतिहासमै पहिलो महिला अक्सनरको रूपमा दर्ज हुने भएकी छन् ।

ईडब्लुभीएल एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिग समेत् हो । लिगको खेलाडी अक्सन साउन २ गते काठमाडौंमा आयोजना हुने तय भएको छ । आयोजकले शुभेक्षाको अनुभव र प्रभावशाली उपस्थिति लिगको सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

शुभेक्षा ‘मिस नेपाल इन्टरनेसनल २०१२’ र ‘मिस युनिभर्सिटी नेपाल २०१७’ की विजेता पनि हुन्  ।  अभिनय, मोडलिङ, टेलिभिजन होस्टिङ र सामाजिक कार्यमार्फत आफूलाई चिनाइसकेकी उनले खेलकुद क्षेत्रमा गरेको यो प्रवेशलाई ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

“नमस्ते नेपाल, म शुभेक्षा खड्का–तपाईंकी अक्सनर,” शुभेक्षाले भनिन्, “एशियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिगको आधिकारिक अक्सनियर हुन पाउँदा म अत्यन्त उत्साहित छु । यसपालि म साइडलाइन होइन, प्रत्यक्ष अक्सन र टिम सेलेक्शन प्रक्रियामा सहभागी हुनेछु ।” 

यस संस्करणमा साविक विजेता कर्णाली यशोबंसी, काठमाडौं स्ट्राइकर्स, ललितपुर लेजेन्ड्स, चितवन शेर्पाज, मधेश युनाइटेड र पोखरा पायरेट्स जस्ता टिमले प्रतिस्पर्धा गर्नेछन् ।

ईडब्लुभीएलकी प्रमुख कार्यकारी अधिकृत सेन्भी चापागाईंले भनिन्, “शुभेक्षालाई अक्सनरको रूपमा समावेश गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । लिग महिला सशक्तीकरणका लागि समर्पित छ र यस्तो भूमिकामा महिलाको सहभागिता प्रेरणादायी हुनेछ ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close