
पोखरा स्पोर्टस । भारतीय क्रिकेटर यश दयालको गिरफ्तारीलाई इलाहाबाद उच्च अदालतले रोक लगाएको छ।
यौन उत्पीडन मुद्दामा अर्को सुनुवाइ नभएसम्म रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का लागि खेल्ने दयालविरुद्ध कुनै दण्डात्मक कारबाही नगर्न अदालतले निर्देशन दिएको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, न्यायाधीश सिद्धार्थ वर्मा र न्यायाधीश अनिल कुमारको इजलासले एफआईआरलाई चुनौती दिने यश दयालको निवेदनमा यो आदेश दिएको हो ।
गत हप्ता, एक महिलाले क्रिकेटर यश दयालविरुद्ध यौन उत्पीडनको आरोप लगाउँदै एफआईआर दायर गरेकी थिइन् ।
महिलाले उनी पाँच वर्षदेखि दयालसँग सम्बन्धमा रहेको र आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
यश दयालविरुद्ध जुलाई ६ मा उत्तर प्रदेशको गाजियाबादको इन्दिरापुरम प्रहरी चौकीमा भारतीय दण्ड संहिताको धारा ६९ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
