पोखरामा चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल शुक्रबार सुरु हुने

पोखरा स्पोर्टस । पोखराको पर्यटकिय केन्द्र लेकसाइडमा भोली (शुक्रबार) बाट दुई दिने चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु हुने भएको छ ।

पोखरामा यस प्रकारको प्रतियोगिता पहिलो पटक हुन लागेको हो । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको हो । असार ८ र ९ गते हुने प्रतियोगितामा चीनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा सिचुवान ड्रागन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फ्रेण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटान ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्नेछन् ।

५ सय र दुई सय मिटरको दुरीमा डुंगा दौड हुनेछ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरि २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । बंग्लादी घाटदेखि स्विमिङपुल घाटसम्म यो दौड प्रतियोगिता सञ्चालन हुनेछ ।

दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि ६० जना खेलाडी सहितको झण्डै २ सय चीनियाँ टोली प्लेन चार्टड गरेर पोखरा आइसकेका छन् ।

फेस्टिभलका लागि २ करोड ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहयोगी संस्थाका रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close