प्रधानमन्त्री कप महिला भलिबलमा आर्मी र नेपाल पुलिसको विजयी सुरुवात

पोखरा स्पोर्टस । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहिवारदेखि नेपालगन्जमा सुरु भएको छ ।

चुस्त व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरकै झझल्को दिनेगरी नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन  क्लबले जित दर्ता गरेका छन् ।

पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, पुर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजित कुमार शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीका निर्देशक रेवती सिंहले पुरस्कृत गरे ।

विगतका बर्षभन्दा सुधारिएको प्रदर्शन गरेको लुम्बिनी आशा लाग्दो टिमका रुपमा देखा परेको छ । लुम्बिनीका प्रशिक्षक अर्जुन घिमिरेले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । राष्ट्रिय टिमका खेलाडी समावेश पुलिसका अगाडि आफ्ना खेलाडी खुलेर खेलेको उनको भनाइ थियो । उता नेपाल पुलिसकी सहायक प्रशिक्षक कोपिला उप्रेतीले नेपाल पुलिस उपाधि जित्ने हिसाबले नेपालगन्ज आएको बताइन् । पहिलो खेलमा खेलाडीले राम्रो प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो । कोपिला पहिलो पटक प्रशिक्षकका रुपमा नेपालगन्ज आएकी हुन् । यसअघि नेपाल पुलिस प्रधानमन्त्री कप च्याम्पियन बन्दा कोपिला पुलिसकी महत्वपुण खेलाडी थिइन् ।

त्यसैगरी दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबे न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफल भयो । त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पुर्व खेलकुद प्रशासक अशोकजंग थापा, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, मिठो छ टिटका संस्थापक सौभाग्यजंग शाह र भारोत्तोलनकी साग स्वर्णधारी सञ्जु चौधरीले पुरस्कृत गरे । फाइनल खेल झैं निकै प्रतिस्पर्धा भएको उक्त खेलमा नतिजामा आर्मीका प्रशिक्षक लोकेस बुढाले खुशी व्यक्त गरे । त्यस्तै डायमन्डका प्रशिक्षक कुमार राईले राम्रो गर्ने प्रयास गर्दागर्दै पनि नतिजा गुमाउन पुगेको प्रतिक्रिया दिए ।

यसअघि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले पिएम कप आठौं संस्करणको उद्घाटन गरेका थिए । भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवालाई बल हस्तान्तरण गरेका थिए । उदघाटन मन्तव्य दिंदै मन्त्री अथकले पिएम कपलाई नेपाल सरकारको रातो किताबमा उच्च प्राथमिकताका साथ समावेश गर्ने बताए । मोफसलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बर्षेनी गर्नसक्नु निकै चुनौति भएकाले आगामी बर्षदेखि नेपाल सरकारले यसको अभिभावकत्व लिने उनले बताए । ‘यसको स्वामित्व लिन सरकार तयार छ ।’ उनले भने–‘सिमावर्ती सहरमा भारतीय टिमलाई समेत आमन्त्रण गरेर खेलाडीको आवास तथा भोजन पाँच तारे होटलमा गरी खेलाडीको हौसला बढाइदिनुभएकोमा म आयोजकलाई धन्यवाद दिन्छु ।’ खेलाडीको आवास तथा भोजनमा कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजाले हस्पिटालिटी पार्टनरका रुपमा सघाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय पोशाक ब्रान्ड युक्यान किट पार्टनर तथा महिला सशक्तीकरणका बिषयमा ऐक्यवद्धता जनाउँदै युएनडिपीले थिम पार्टनर भएर सहकार्य गरेको छ । नेपाली सेनाको भैरवप्रसाद गणले व्यवस्थापनमा सघाएको छ ।

लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेल नेपाल पुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब(भारत) तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर(छत्तीसगढ भारत)को हुनेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close