
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेको खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि १२ वर्ष पछि बनेको छ । नेपाली खेलकुदमा क्षमता अभिवृद्धिका लागि २०७० साथमा खेलकुद विज्ञान प्रतिष्ठान बनाइएको थियो ।
यूवा तथा खेलकुद मन्त्रालयले गठन गरेको कार्यदलले सो कार्यविधि बनाएको प्रतिष्ठानका निर्देशक कृष्ण तिमिल्सिनाले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बुझाइएको कार्यविधिले प्रतिष्ठानको स्थापना, सञ्चालन, समितिहरूको संरचना, जिम्मेवारी र अधिकारदेखि लिएर तालिम तथा अनुसन्धान प्रणालीसमेतलाई स्पष्ट ढंगले परिभाषित गरेको छ ।
समितिमा रहेर कार्यविधिलाई मन्त्रालयका महाशाखा प्रमुख रामचरित्र मेहता, सचिवको जिम्मेवारीमा रहेका प्रतिष्ठानका निर्देशक तिमिल्सिना, खेल विज्ञ शुसिलनर सिंह राणा, सुलोचना सिजख्वा, डा. मधुसुदन सुवेदी र प्रतिष्ठानका प्रशासन प्रमुख लक्ष्मण प्रसाद योगी रहेका थिए ।
नेपालको खेलकुद क्षेत्रको समग्र विकास, अनुसन्धान, अध्यापन, तथा दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसहित ‘खेलकुद प्रतिष्ठान’ स्थापनाको विस्तृत कार्यविधि सार्वजनिक गरिएको निर्देशक तिमिल्सिनाले पोखरा स्पोर्टस संगको कुराकानीमा जनाएका छन् । उनले भने–“विगत १२ वर्ष देखि प्रतिष्ठानले आफ्नो क्षमता अनुसार कार्य गर्दै आइरहेको थियो । तर अव कार्यविधि तयार भएको छ । यसले नेपाली खेलकुदको जगलाई अझै बलियो बनाउने गरी अघि बढ्छ ।”
युवा तथा खेलकुद मन्त्रालयको पहलमा तयार पारिएको यो कार्यविधिले प्रतिष्ठानको स्थापना, सञ्चालन, समितिहरूको संरचना, जिम्मेवारी र अधिकारदेखि लिएर तालिम तथा अनुसन्धान प्रणालीसमेतलाई स्पष्ट ढंगले परिभाषित गरेको छ।
कार्यविधिमा के–के छन् विशेषताहरु
प्रतिष्ठानको स्थापना र उद्देश्य
कार्यविधिअनुसार, खेलकुद क्षेत्रको उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापनाको प्रावधान गरिएको उल्लेख छ । यस अन्तर्गत अध्ययन, अध्यापन, अनुसन्धान, तालिम, पाठ्यक्रम निर्माण तथा अनुकूल वातावरण तयार पार्नका लागि आवश्यक भौतिक संरचना निर्माण गरी प्रतिष्ठानले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका रूपमा कार्य गर्ने, जसको आवश्यकता अनुसार शाखा तथा इकाईहरूको विस्तार गर्न सकिने उल्लेख छ ।
संरचना र प्रमुख अङ्गहरू
-प्रतिष्ठानमा निम्न संरचनात्मक अङ्गहरू रहनेछन्:व्यवस्थापन समिति (Management Committee)
-उच्च प्रदर्शन प्रशिक्षण केन्द्र (High Performance Training Center)
-खेलकुद विज्ञान प्रयोगशाला (Sports Science Lab)
-खेलकुद पुस्तकालय (Sports Library)
-सम्बन्धित विभाग/शाखाहरू
यी संरचनाहरू सामूहिक रूपमा प्रतिष्ठान सञ्चालनमा रहने तथा प्रत्येक अङ्गको कार्य क्षेत्र र व्यवस्थापन विधि कार्यविधिमा स्पष्ट गरिएको छ ।
प्रतिष्ठानको कार्यक्षेत्र, कर्तव्य र अधिकार
प्रतिष्ठानको प्रमुख कार्यहरूमा निम्न समावेश छन्
–अध्यापन, तालिम, अनुसन्धान तथा पाठ्यक्रम विकासको योजना बनाउने र कार्यान्वयन गर्ने ।
–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय, शैक्षिक संस्था र खेलकुद प्रतिष्ठानसँग सहकार्य गर्ने ।
–खेल प्रशिक्षक, अध्यापक, तालिमदाता, अनुसन्धानकर्ता तथा व्यवस्थापक उत्पादन गर्ने ।
–विभिन्न खेलसम्बन्धी पुस्तक, बुलेटिन, लेख तथा सामग्रीहरू तयार पार्ने र प्रकाशन गर्ने ।
–प्रदेश र स्थानीय तहमा समेत कार्यक्रम सञ्चालन गर्ने ।
–प्रशिक्षक तथा कर्मचारीहरूको दक्षता मूल्यांकन गर्ने तथा आवश्यक संरचना तयार गरी प्रस्ताव पेस गर्ने ।
सञ्चालक समिति, गठन र जिम्मेवारी
सञ्चालक समितिमा सात सदस्य रहनेछन्, जसको अध्यक्षता युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाका प्रमुखले गर्ने गरी समितिमा समावेश हुने अन्य सदस्यहरू यस्ता रहनेछन :
-नेपाल खेलकुद विज्ञान प्रतिष्ठान निर्देशक
-सम्बन्धित विश्वविद्यालयरशिक्षण संस्थाका प्रतिनिधि
-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रतिनिधि
-खेल विशेषज्ञ २ जना
सञ्चालक समितिको कार्यक्षेत्रमा नीति निर्माण, कार्यक्रम तथा बजेट निर्माण, कार्यक्रमको गुणस्तर मापन, तालिम केन्द्रको अवलोकन, दक्ष जनशक्ति छनौट, आवश्यक मानव संसाधनको माग प्रस्तुत गर्नुजस्ता कार्य रहने उल्लेख छ ।
प्रशिक्षण तथा पाठ्यक्रम निर्माणमा जोड
प्रतिष्ठानले अध्ययन, अनुसन्धान, तालिम तथा प्रशिक्षक विकासका लागि स्तर निर्धारण गरिनेछ। पाठ्यक्रम तयार पार्ने र आवश्यकतालाई समेट्ने गरी अध्यापक तथा प्रशिक्षक उत्पादनमा बल दिइनेछ । यसमा कक्षा शिक्षणदेखि लिएर व्यावसायिक प्रशिक्षण, अनलाइन अध्ययन, परीक्षण, मूल्यांकन र अन्तर्राष्ट्रिय पाठ्यक्रमसँग समन्वय गरी कार्य अघि बढाइने जनाइएको छ ।
समावेशीकरण र गुणस्तरीयता सुनिश्चित गर्न स्पष्ट मापदण्ड
कार्यविधिमा प्रशिक्षक छनोट, तालिम सञ्चालन, र मूल्याङ्कन सबै निष्पक्ष, समावेशी र वैज्ञानिक मापदण्डका आधारमा गरिने स्पष्ट गरिएको छ । साथै, विद्यार्थी, प्रशिक्षार्थी तथा सहभागीहरूलाई छात्रवृत्ति, पुरस्कार तथा सम्मान दिने मापदण्ड समेत समितिबाट निर्धारण गरिने जनाइएको छ ।
भविष्यको कार्ययोजना र अन्तर्राष्ट्रिय समन्वय
प्रतिष्ठानले भविष्यमा खेलकुद शिक्षाको गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रियस्तरका खेल विश्वविद्यालय, शैक्षिक संस्था तथा प्रतिष्ठानहरूसँग सहकार्य गर्नेसमेत व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट प्राप्त पाठ्यक्रमहरूलाई स्वीकृति दिने प्रक्रिया समेत समावेश गरिएको छ ।
सारांशमा, ‘खेलकुद प्रतिष्ठान’ नेपालको खेल क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन, आधुनिक अनुसन्धान र नीति निर्माणको केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ । कार्यविधिमा परिकल्पित संरचना, जिम्मेवारी, कार्यशैली र अधिकारले आगामी दिनमा नेपालको खेलकुद क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
