गण्डकीका दुई खेल संघसहित ९३ जना  खेलाडीहरु नगदसहित सम्मानित हुँदै

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका दुई खेल संघसहित खेलाडीहरु नगदसहित सम्मानित हुने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट रुपमा सफलता हात पार्ने दुई खेल संघसहित दुई दर्जन भन्दा बढि खेलाडीहरुलाई सम्मानित गर्ने भएको हो ।

परिषदका सदस्य सचिब श्रीधर शर्माले चालु आवमा प्रादेशिक क्रिकेट संघ गण्डकी नगद १ लाखसहित र गण्डकी प्रदेश हक्की संघ नगद रु ५० हजारसहित सम्मानित गर्न लागिएको पोखरा स्पोर्टस लाई जानकारी दिए ।

यसै बीच १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा रेकर्ड ब्रेक गर्ने नारायणी भण्डारीलाई परिषदले नगदसहित सम्मान गर्न लागेको छ । उनको पदक र रेकर्ड ब्रेक गरी कुल नगद रु ४३ हजारसहित सम्मान गर्न लागिएको परिषदले जनाएको छ ।

२०८२ जेष्ठ २९ काठमाण्डौमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा तय गर्दै नारायणीले कीर्तिमान बनाएकी थिइन् । उनले २५ वर्ष अघि २०५७ सालमा टिका चौधरीको किर्तिमान तोडेकी थिइन् ।

खेल संघहरु र खेलाडीहरुलाई भोली (बुधबार) एक कार्यक्रमका बीच सम्मान गरिने भएको छ भने सोही कार्यक्रममा विभिन्न विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययनरत खेलाडीहरुलाई समेत छात्रवृत्ति प्रदान गरिने छ । व्याचलर्स तहमा अध्ययनरत खेलाडीहरुले जनही नगद रु २७ हजार छात्रवृत्ति प्राप्त गर्नेछन् भने कक्षा ११/१२ अध्ययनरत खेलाडीले जनही नगद रु २२ हजार र कक्षा १० मा अध्ययनरत खेलाडीले जनही नगद रु १० हजार प्राप्त गर्ने सदस्य सचिब शर्माले जानकारी दिए ।

यसका साथै परिषदले आफ्ना मातहतका सबै जिल्ला खेलकुद विकास समितिहरु मार्फत पुरस्किृत खेलाडीहरुलाई समेत सम्मान गर्न भनेको छ । सम्मानित हुने खेलाडीहरु आफ्नो जिल्ला खेलकुद मार्फत परिषदले सम्मान स्वरुप प्राप्त वितरण गर्न लागेको पुरस्कार रकमसहित सम्मानित हुनेछन् भने परिषदको सभाकक्षमा समेत सो कार्यक्रम तय गरिएको छ ।

परिषदले यस आवमा कुल ९३ जना खेलाडीहरुलाई सम्मान गर्न लागेको कार्यालय प्रमुख तोपलाल भुसालले पोखरा स्पोर्टसलाई बताए । उनका अनुसार अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीले १७ हजार प्राप्त गर्नेछन् भने सहभागिले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक बिजेताले नगद रु १७ हजार, रजत पदक बिजेतालाई नगद रु १५ हजार र काश्य पदक बिजेताले नगद रु १३ हजार नगद प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close