गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगिताको उपाधि किरण र ऋषीसराले जिते

पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्थापनाको अवसरमा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको ठेलो प्रतियोगितामा किरण विक र ऋषीसरा थापाले उपाधी जितेका छन् ।

प्रदेशले परम्परागत खेलको प्रवर्द्धन र सम्मानका लागि पोखरामा आयोजना गरेको प्रदेश स्तरीय ठेलो प्रतियोगिताको पुरुषतर्फ किरण विक प्रथम भए । पर्वतका विकले ठुलो ठेलो (२२ पाउण्ड)मा १३.८८ मिटर र सानो ठेलो (१२ पाउण्ड)मा १९.६९ मिटर फाल्दै प्रथम भएका हुन् । दुवै इभेन्टमा उपाधि जितेका उनले नगद रु २०–२० हजार गरी नगद ४० हजार हात पारे । यस्तै रोहित विकले ठुलो ठेलोमा १३.५८ मिटर फाल्दै दोस्रो भए । स्याङजाका राजेश गुरुङ १२.९३ मिटर फाल्दै तेस्रो भए । सानो ठेलो तर्फ रविन विक दोस्रो भए उनले १९.३७ मिटर पर फाले । रोहित विकले १९.३३ मिटर पर फाल्दै तेस्रो भए ।

महिला तर्फ भएको प्रतियोगितामा ऋषीसरा थापाले १०.७३ मिटर पर फालिन । प्रतियोगितामा १२ पाउण्ड फालेकी उनले नगद २० हजार जितिन  ।  दोस्रो स्थानमा रहेकी सरस्वती गुरुङले १०.६३ मिटर पर फालिन भने १०.२४ मिटर पर फालेकी शर्मिला थापा मगर तेस्रो भइन् ।

सो अवसरमा साविक मौजा गाविस १ हाल पोखरा वडा नं २० मा जन्मिएका हाल पोखरा १६ निवासी अग्रज ठेलो खेलाडी दक्ष बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश खेलकुद विकास परिषदले खेलकुद क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । उनले आर्थिक समृद्धीका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुने भएकोले खेलकुद विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरे ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ , प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, प्रतियोगिताका संयोजक योगेन्द्र शेरचन, शिक्षा विद महेश गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरु लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाका पुरुष ४० र महिला ७ गरि ४७ जनाको सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close