
पोखरा स्पोर्टस । गण्डकी प्रदेश दोस्रो महिला टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा स्याङ्जाले नवलपुरलाई ८ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।
स्याङजाको जितमा सिमाना केसीको बलिङ प्रदर्शन उत्कृष्ट रह्यो । उनले गर्दै ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चिएर ४ विकेट लिइन् । उनी प्लेयर अफ द म्याच बनिन् ।

स्याङ्जाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै नवलपुरलाई १५.३ ओभरमा जम्मा ५६ रनमै समेट्न सफल भयो ।
नवलपुरका लागि धनकुमारी क्षेत्रीले ३२ बलमा १७ रनको योगदान दिइन् । अन्य ब्याटरहरू भने सशक्त प्रदर्शन गर्न असफल भए ।
स्याङ्जाका लागि निरु जीटीले पनि २ विकेट हात पारिन् ।
५७ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले मात्र ८.४ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । सलिना सेनले २३ रनको योगदान दिँदा, श्रेया शाहले १४ रन बनाइन् ।
नवलपुरका बलरहरू आयुषा चापागाई र लीजा गुरुङले समान एक–एक विकेट लिए ।
