गण्डकी प्रदेश भलिबल संघद्वारा पाँचौं टाइगर कपको आय–व्यय सार्वजनिक

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ को आय–व्यय सार्वजनिक गरेको छ ।

गत माघ १२–२० गते सम्म पोखरामा सम्पन्न प्रतियोगिताको लागि गण्डकी प्रदेश भलिबल संघलाई प्राप्त सहयोग तथा खर्च विवरण सार्वजनिक गरेको हो । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ मा सहयोग गर्ने दाताहरूको विवरण समेत सार्वजनिक गर्दै संघले प्रतियोगितामा सहभागिता तथा टिम व्यवस्थापनका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संघसंस्था तथा समूहहरूमार्फत झन्डै १६ लाख ३५ हजार ५५५ रुपैयाँ सहयोग प्राप्त गरेको जानकारी दिएको छ ।

झण्डै ५ महिना ढिलो गरी सार्वजनिक गरिएको आय–व्यय विवरण अनुसार कुल १४ लाख ७५ हजार ५५५ सहयोग रकम संकलन भएको मध्ये अझै १ लाख ६० हजार रुपैयाँ उठन बाँकी रहेको र कुल १७ लाख ५३ हजार १९० रुपैयाँ खर्च भई २ लाख ७७ हजार ६३५ रुपैयाँ घाटा व्यभार थपिएको कोषाध्यक्ष टुक बहादुर गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरूङसहितको पहलमा संघले टिम व्यवस्थापनका लागि सहयोग रकम संकलन गरेको थियो । कोषाध्यक्ष टुक बहादुर गुरूङले उठ्न पर्ने बाँकी रकम सबै उठे पनि पाँचौ टाइगरकपमा संघको आर्थिक व्यभार थपिन गएको बताएका छन् । उनले भने–“अध्यक्ष ज्यूसहितको टोली स्वदेश, तथा विदेशबाट गण्डकी भलिबललाई मायाँ गर्नेहरुबाट सहयोग रकमका लागि पहल गर्नु भयो । तर अझै पनि आर्थिक व्यभार थपिएको छ । यो हाम्रो लागि चुनौती हो ।”

सो प्रतियोगिताका लागि आयोजक टाइगर ग्रुपले टिमलाई खेल पोशाकसहित नगद रु ४ लाख सहयोग गरेको थियो भने विकास राना (हाल जापान), मीन क्षेत्री (हाल बेल्जियम), राजु केसी (हाल अमेरिका), राजु तिमिल्सिना तनहुँ हाल यएई, सुवास लामिछाने, राम बहादुर थापा र मनोज केसीले जनही नगद रु ५०–५० हजार सहयोग गरेका थिए ।

त्यस्तै, लेख गुरुङ (हाल अमेरिका)ले नगद रु १ लाख, विष्णु गुरूङ (ठूले) पर्वत हाल हङकङले नगद रु ५५ हजार सहयोग गरेका थिए ।

संघले गण्डकी प्रदेश भलिबल टिमका लागि भित्राएको तीन विदेशी खेलाडीहरुका लागि भने ठूलो रकम खर्चिएको छ । संघले भारतीय खेलाडी रमन, ट्युनिशियाका खेलाडी मिलादी र कङ्गोका खेलाडी शेसाको भत्ता र यातयात खर्चमा मात्रै १३ लाख ३२ हजार ५ सय खर्च गरेको छ । उनीहरुको हवाई यातयातमा मात्रै झण्डै ५ लाख ७३ हजार ५ सय खर्च भएको संघले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । संघले आफ्ना खेलाडीहरुको प्रशिक्षण तथा अन्य सुविधाका लागि २ लाख ८५ हजार ५५५ खर्च भएको जनाएको छ ।

संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता एवं सहयोगीहरु प्रति कृतज्ञता एवं आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको छ । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरूषतर्फको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close