
पोखरा स्पोर्टस । नेपाल बुद्धिचाल संघको सातौं केन्द्रिय साधारण सभा तथा अधिवेशन शुक्रबारबाट राजधानीमा सुरु भएको छ ।
उक्त सातौं केन्द्रिय साधारण सभा तथा अधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सुवास श्रेष्ठले गरेका छन् । सो अवसरमा राखेप सदस्य श्रेष्ठले वुद्धिचाल संघले नेपाली खेलकुदको विकासमा आफ्नो क्रियाशिलता बढाई रहेको बताउँदै आगामी दिनमा नयाँ नेतृत्वले थप उचाई दिने विश्वास व्यक्त गरे । उनले खेलकुद संघहरुलाई जिवन्त बनाई राख्न साधारण सभा र अधिवेशनहरु महत्वपूर्ण पाटो भएको बताउँदै कोभिड १९ का कारण ढिलो भए पनि बुद्धिचाल संघले आफ्नो नियमित अधिबेशन गरेकोमा संघलाई बधाई समेत दिए ।
दुई दिन सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघका अध्यक्ष एकलाल श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले भने–“हामी संघको अधिवेशन सहज रुपमा सम्पन्न होस भन्ने चाहेका छौं भने आगामी नेतृत्व समेत त्यही ढङ्गले चयन गर्नेछौं ।”
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश प्रसाद सिवाकोटी, एसियन काउन्सिलिङका अध्यक्ष राम कुमार थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
संघले शनिबार अध्यक्ष सहित २१ सदस्यिय नयाँ कार्यसमिति चयन गर्नेछ ।
