एनओसीको पनि आयो विज्ञप्ती, ‘एशियन गेम्समा नेपालको सहभागिता नहुन सक्छ’

पोखरा स्पोर्टस । जापानमा सन् २०२६ सेप्टेम्बरमा आयोजना हुने २० औं एशियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर नेपाल ओलम्पिक कमिटी (एनओसी)ले गम्भीर आपत्ति जनाउँदै पत्रकार सम्मेलनमार्फत सरकार र राष्ट्रिय खेलकुद परिषद्को भूमिकामाथि प्रश्न उठाएको छ।

एनओसी र यूवा तथा खेलकुद मन्त्रालय बीच दोहोरी चलिरहेकै बेला आज एकै दिन एनओसी र मन्त्रालयले एक अर्कालाई आरोप लगाउँदै विज्ञप्ती प्रकाशित गरेका छन् । एनओसीले सरकारको भूमिकाका बारेमा प्रश्न उठाउँदा मन्त्रालयले एनओसीलाई अवैध भनेको छ । दुबैले एक अर्कालाई आरोप लगाउँदा नेपाली खेलकुद क्षेत्र अन्तर्राष्ट्रियस्तरमा बदनाम हुने स्थितीमा उभिएको छ भने खेलाडीहरुको भविष्य र तयारी समेत अन्यौल भएको छ ।

एनओसीले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा अध्यक्ष जीवनराम श्रेष्ठले एशियन गेम्समा कुन–कुन खेलमा सहभागिता जनाउने भन्ने खेल दर्ताको अन्तिम म्याद २०८२ असार १६ सम्म तोकिएको भए पनि सो म्यादसम्म युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै प्रतिक्रिया नआएको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक चार्टरको अनुच्छेद २७ (३), राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा नियमावली २०७९ को प्रावधानको हवाला दिँदै नेपाल ओलम्पिक कमिटीले मात्रै अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता सुनिश्चित गर्ने अधिकार राख्ने बताउँदै एनओसी मार्फत खेलाडी दर्ता गराउन जोड दिएका छन् ।

सोही आधारमा एनओसीले देशभरका खेल संघहरूलाई पत्राचार गरी तोकिएको समयभित्र आफ्ना खेलहरू दर्ता गराउन आग्रह गरेको जनाउँदै सो अनुसार अन्तिम म्यादभित्र ३० वटा खेल संघहरूले सहभागिता जनाउने प्रस्ताव सहित खेल दर्ता गराएको एनओसीले जनाएको छ ।

यसै सन्दर्भमा, सन् २०२५ को अक्टोबर २२–३१ मा बहराइनमा आयोजना हुने तेस्रो युथ एशियन गेम्सको सन्दर्भमा पनि एनओसीले मन्त्रालय र परिषदलाई समयमै जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको उल्लेख गरिएको छ । खेलाडीको सहभागिता सुनिश्चित गर्न जुलाई २१, २०२५ (२०८२ साउन ४) भित्र टिम दर्ता गरिसक्नुपर्ने बाध्यता रहेको एनओसीले जनाएको छ । 

अध्यक्ष श्रेष्ठले भनेका छन्, “खेलाडीहरूलाई आफ्नो खेल खेल्ने अधिकारबाट वञ्चित हुन नदिन हामी निरन्तर सरकारसँग समन्वयमा रहनेछौं ।  तर सरकार र सम्बन्धित निकायहरूको ढिलासुस्तीले राष्ट्रिय गौरवमा आँच आउने खतरा छ ।”

अध्यक्ष श्रेष्ठले पत्रकारहरूप्रति आभार प्रकट गर्दै एशियन गेम्स र युथ एशियन गेम्सबारे तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरे । साथै, नेपाली खेलकुदको हितमा पत्रकारहरूको सक्रियता निरन्तर अपेक्षित रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close