
पोखरा स्पोर्टस । नेपाली टेनिस खेलाडी शिवाली गुरुङ ग्रान्ड स्ल्याम प्लेयर डिभलपमेन्ट प्रोग्राम (GSPDP) अन्तर्गत ITF/ATF ‘टेनिस टु युरोप टुर’मा सहभागी हुन लागेकी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उनलाई विशेष शुभकामना सहित बिदाई गरेका छन् ।
१४ वर्ष मुनी उमेर समूहकी गुरुङ फ्रान्स, जर्मनी र बेल्जियममा हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने कार्यक्रम रहेको छ । गुरुङले जुलाई १४ देखि २० सम्म फ्रान्सको ‘ओपन स्टेट फ्राकाइस’ जुलाई २१ देखि २७ सम्म टेनिस युरोप, जुलाई २८ देखि अगस्ट ३ सम्म जर्मनीको ‘इन्टरनेशनल डेउटसी’ र अगस्ट ४ देखि १० सम्म बेल्जियममा आयोजना हुने ‘योङ च्याम्पियनशिप कप’मा प्रतिस्पर्धा गर्नेछिन् ।
उनका प्रशिक्षक प्रदिप खड्काका अनुसार यस्ता अन्तर्राष्ट्रिय युरोपेली प्रतियोगितामा नेपाली खेलाडीको पहिलो सहभागिता हुनेछ । शिवाली एशियन च्याम्पियनशिपमा १४ वर्ष मुनी समूहमा प्रथम हुँदै एशियाली स्तरमा चौथो स्थानमा रहन सफल भएकी थिइन् ।
शिवाली पहिलो नेपाली खेलाडी हुन् जसले GSPDP/ITF/ATF अन्तर्गत युरोप टेनिस कपमा स्थान बनाएकी हुन् । बिदाई कार्यक्रममा परिषद् सदस्य हिमाल कुमार श्रेष्ठ, प्रशिक्षक प्रदिप खड्का र राजकुमार लामा पनि सहभागी थिए ।
