नेपाल ओलम्पियन्स एसोसिएसनको अध्यक्षमा पुनः विष्ट

ओलम्पियन पुनर्मिलन कार्यक्रम सम्पन्न

पोखरा स्पोर्टस । नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा आज भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । विष्ट यसअघि पनि अध्यक्ष थिए ।

एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देबु थापा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भएका छन् । सदस्यमा विष्णु वहादुर सिंह, मुकुन्द हरि श्रेष्ठ, टिकाराम श्रेष्ठ,भगवती केसी , विमला रानामगर, राजकु‌मारी पान्डे, फूलमाया क्याप्छाकी, प्रिन्स दाहाल र सफलराम श्रेष्ठ निर्वाचित भए ।

बन्द सत्रले महासचिव राजेन्द्र भण्डारीले पेश गरेको वार्षिक र आर्थिक प्रतिवेदनलाई सभाले पास गरेको थियो । सभाले स्कुल टु ओलम्पिकलाई निरन्तरता, ओलम्पियनको विवरणसहितको पुस्तक र हरेक ओलम्पिकपछि पुनर्मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

ओलम्पियन पुनर्मिलन कार्यक्रम सम्पन्न
बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम मुख्य मन्त्रीले भत्ता दिने बताएका हुन्। गण्डकी प्रदेशले दुई बर्षयता‌ आफ्नो प्रदेशका ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । सुदूरपश्चिम प्रदेशले‌ हालै आफ्ना प्रदेशका ओलम्पियनलाई भत्ता दिने घोषणा गरेको छ।

सो‌ अवसरमा सन् १९९२ , १९९६ र २००० को ओलम्पिकमा भाग लिएका अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री, ज्ञानबहादुर बोहोरालाई लाई‌ सम्मान गरिएको थियो। १९९६ का ओलम्पियन स्वर्गीय सुनिललाल जोशीलाई‌ मरणोपरान्त परिवारमार्फत सम्मान दिइएको थियो ।

मुख्य मन्त्री लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद् बागमती सदस्य सचिव दीपक लामा, ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्टले सम्मान गरेका थिए ।

सोही अवसरमा अध्यक्ष विष्ट र कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा भाग लिएका ७ मध्ये ३ जना एथलेटिक्सका सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन र प्रमाण पत्र प्रदान गरे ।

स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा शनिवार बिहान चितवनमा वाकाथन भएको थियो ।

वाकाथनमा मुख्यमन्त्री लामा, खेलकुद मन्त्री महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

सौराहाको हात्तीचोकबाट रिभर साइडसम्म वाकाथन भएको थियो ।

ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो । शनिवार बिहान स्कुल टु ओलम्पिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close