
पोखरा स्पोर्टस । कास्की जिल्ला रग्बी संघको आयोजनामा सम्पन्न पोखरा T1 विद्यालयस्तरीय रग्बी प्रतियोगितामा लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै छात्र/छात्रा दुवैतर्फ उपाधि उचालेको छ ।
शनिबार लेखनाथ रंगशाला, भण्डारढिकमा आयोजित छात्रतर्फको फाइनल खेलमा लेखनाथ मेमोरियलले सोसल पब्लिक स्कूललाई १–० ट्राईले पराजित गर्दै च्याम्पियन बन्न सफल रह्यो । छात्रातर्फ पनि लेखनाथ मेमोरियलले लिटल फ्लावर एजुकेशन एकेडेमीलाई १–० ट्राईले हराउँदै दोहोरो उपाधि हात पारेको हो ।
छात्रतर्फ लिटल फ्लावरले न्यू एरा एकेडेमीलाई २–१ ट्राईले हराउँदै तृतीय स्थान हासिल गर्दा न्यू एरा सान्त्वना स्थानमा सन्तोष मान्न बाध्य भयो । छात्रातर्फ न्यू एरा एकेडेमीले सोसल पब्लिक स्कूललाई पेनाल्टी, नक अन तथा मेजोरिटी मिस्टेकका आधारमा हराउँदै तृतीय स्थान प्राप्त गर्यो ।
पोखरा महानगरपालिका र विद्यालय रग्बी आयोगको समन्वयमा असार १३ र १४ गते सञ्चालन गरिएको प्रतियोगिताको दोस्रो दिन पोखरा सेभेन्सको दोस्रो संस्करणअन्तर्गत गण्डकी प्रदेशका खेलाडीहरूलाई दुई टिममा बाँडेर मैत्रीपूर्ण खेल समेत सम्पन्न गरियो । उक्त खेलमा टिम मोशेसले टीम संगमलाई ५–३ ट्राईले हराउँदै विजयी बन्न सफल भयो ।
वि.सं. २०७२ सालमा गठन भएको कास्की जिल्ला रग्बी संघले खेलाडी, प्रशिक्षक र रेफ्री उत्पादनका लागि नियमित प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
समापन समारोहमा विजेता तथा उपविजेता टिमलाई पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष श्री प्रसाद गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य मधुसुदन सुबेदी, पोखरा म.न.पा खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक बहादुर गोदार, समाजसेवी चेतबहादुर गुरुङ, विद्यालय रग्बीका केन्द्रीय सदस्य खिम गुरुङ, गण्डकी अध्यक्ष मिलन के.सी.,लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरी पौडेल तथा कास्की रग्बी संघका अध्यक्ष सुवास खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।
